दाङ, २७ साउन । नेपालको समग्र विकासमा युवा उद्यमशीलता महत्वपूर्ण पक्षका रूपमा स्थापित हुँदै गएको छ। मुलुकको करिब ७० प्रतिशत विकास निजी क्षेत्रको माध्यमबाट हुँदै आएको सन्दर्भमा युवाहरूको उद्यमशील भूमिका झनै महत्वपूर्ण छ। कुल जनसङ्ख्याको ४२ प्रतिशतभन्दा बढी हिस्सा युवाको रहेको तथ्यांक छ, तर करिब २० प्रतिशत युवा बेरोजगार छन्। साथै, युवाहरूको विदेश पलायन दर पनि उच्च छ।
देशमै पर्याप्त सम्भावना हुँदाहुँदै पनि राजनीतिक अस्थिरता, नीति निर्माणमा देखिएको असंगठितता, तथा नेतृत्व तहमा देखिएको कमजोरीका कारण युवाहरू निराश भइरहेका छन्। यस्तो अवस्थामा उद्यमी बन्ने चाहना हुँदाहुँदै पनि धेरै युवाहरूमा नैराश्यता देखिएको छ।
यिनै विषयमा बहस गर्न दाङको तुलसीपुरमा नगर युवा सञ्जालको आयोजनामा “युवा र उद्यमशीलता” शीर्षकमा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय विद्यार्थी, शिक्षक, उद्यमी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। २६ औँ अन्र्तराष्ट्रिय युवा दिवसको अवसरमा उक्त कार्यक्रम गरिएको हो ।
कार्यक्रममा जवाफदेहि पक्षका रुपमा तुलसीपुर उपमहानगरपालिकाका पूर्व नगरप्रमुख घनश्याम पाण्डे, उपमहानगरको आर्थिक विकास समितिका संयोजक माधव वली, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसी तथा नेपाल यातायात व्यवसायी महासंघका केन्द्रीय सल्लाहकारहरू सहभागी थिए।
कार्यक्रममा युवाहरूलाई उद्यमशीलता तर्फ कसरी आकर्षित गर्ने, यस क्षेत्रमा रहेका चुनौती र सम्भावनाबारे व्यापक छलफल तथा प्रश्नोत्तर गरिएको थियो।
हिमाल एकेडेमी कक्षा १२ की मुना बुढाथोकीले गरेको पूँजी नभएको व्यक्तिले उद्यम गर्न सक्दैन भन्ने धारणा कति सही वा गलत हो भन्ने प्रश्नमा उद्योग वाणिज्य संघका अध्यक्ष केसीले उद्यमशीलता केवल पूँजीको कुरा होइन, सीप, सिर्जना र सही सोच आवश्यक पर्छ। युवाले आफूमा विश्वास गरेर अगाडि बढ्नुपर्ने जवाफ दिएका थिए ।
कार्यक्रममा कान्ति भट्टराईले परिवारको आलोचना र मानसिक दबाबका कारण उद्यम सुरू गर्न कठिनाइ भएको अनुभव सुनाउँदै युवाहरूको मनोबल बढाउने उपायबारे सुझाव मागिन्।
तुलसीपुर बहुमुखी क्याम्पसका सहायक प्रमुख सूर्य प्रसाद शर्माले युवा उद्यमशीलताको विकासका लागि मानसिकता परिवर्तन गर्न आवश्यक रहेको बताए । विद्यालय तहबाटै उद्यमशीलताको अवधारणा सिकाउनुपर्ने र स्कुलस्तरमै उद्यमशीलता केन्द्रहरू स्थापना गर्नुपर्ने बेला आएको उल्लेख गरे ।
विद्यार्थी केबि ओलीले सरकार युवालाई कसरी उद्यमशीलतामा जोड्न सक्छ भन्ने जिज्ञासा राखेका थिए ।
कार्यक्रममा उपमहानगरका आर्थिक विकास समिति संयोजक माधव ओलीले युवालाई हतोत्साहित नगरी नयाँ सोच र दृष्टिकोण विकास गर्नुपर्ने सुझाव दिए ।
यातायात व्यवसायी सुरेश हमालले यातायात क्षेत्रमा काम गरिरहेका युवाप्रति सकारात्मक दृष्टिकोण आवश्यक रहेको बताए।
कार्यक्रमले उद्यमशीलता क्षेत्रमा युवाको सहभागिता बढाउन सोच, व्यवहार र नीति तहमा परिवर्तन आवश्यक रहेको बताइएको थियो ।
बहस कार्यक्रमको सहजकर्ताका रुपमा नेपाल पत्रकार महासंघका निर्वतमान अध्यक्ष दुर्गलाल केसी रहेका थिए । कार्यक्रमको सहजीकरण तुलसीपुर नगर युवा सञ्जालका गणेश भण्डारीले गरेका थिए ।
हाल नेपालमा युवाको संख्या ४२ प्रतिशतभन्दा बढी भए पनि १९.८ प्रतिशत युवा पूर्ण बेरोजगारीको अवस्थामा छन्। यस्तो अवस्थामा युवा उद्यमशीलतालाई राष्ट्रिय प्राथमिकतामा राख्नु समयको माग हो।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस