अर्घाखाँची,७ भदौ । अर्घाखाँचीको शितगङ्गा नगरपालिका–१३ मुस्यान माझिफाँटमा बाघको आक्रमणबाट एउटै फार्मका सात वटा बाख्रा मारिएका छन् । यस्तै, आठ वटा बाख्रा हराएका छन् ।
हिमालयन बाख्रापालन तथा कृषि फार्मका सञ्चालक घनश्याम अधिकारीका अनुसार फार्ममा रहेका ३० वटा बाख्रा चराउनका लागि जङ्गलमा छाडिएकोमा १५ वटा मात्र फर्किएका थिए, जसमा एउटा घाइते थियो । बाँकी खोजी गर्दा सात वटा बाख्रा मृत भेटिएको र आठ वटा अझै बेपत्ता रहेको उनले जानकारी दिए ।
बुधवार दिउँसो जङ्गलमा चराउने क्रममा घटना भएको अधिकारीले बताए ।
अधिकारीले दुई वर्षअघि करिब १२ लाख रुपैयाँ लगानीमा फार्म स्थापना गरेका थिए । बाख्रासँगै फार्ममा ब्रोइलर कुखुरा र बंगुर पनि पालिएका छन् । गत जेठमा सोही फार्ममा रहेका २५ सय ब्रोइलर कुखुरामध्ये एकैदिन १,२०० वटा मरेका थिए । पछिल्लोपटक फेरि बाख्रामा ठूलो क्षति पुगेको उनले गुनासो गरे ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस