काठमाडौँ,१८ भदौ । विश्वकै सर्वोच्च शिखर सगरमाथामा थुप्रिने फोहर सङ्कलनका लागि ड्रोनको प्रयोग हुँदै आएको छ। बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमक्स इन्क ले नेपालको ड्रोन कम्पनी एअरलिफ्ट टेक्नोलोजीसँग सहकार्य गरी यो कार्य थालेको हो।
साइमक्स इन्कका अनुसार कम्पनीले सगरमाथा क्षेत्रबाट करिब एक हजार किलो फोहर सङ्कलन गर्ने लक्ष्य लिएको छ। बीवाईडीले विश्वव्यापी रूपमा ‘कूल द अर्थ वाई वान डिग्री’ नारासहित जलवायु परिवर्तनविरुद्ध सुरू गरेको अभियान अन्तर्गत नै नेपालमा सगरमाथा क्षेत्र सफाइ अभियान सञ्चालन गरिएको हो।
यो अभियान स्वच्छ ऊर्जाको प्रवर्द्धन र शून्य कार्बन उत्सर्जनमार्फत पृथ्वीको तापक्रम वृद्धिलाई नियन्त्रणमा राख्ने उद्देश्यले अघि बढाइएको बताइएको छ। साइमक्स इन्कका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठ का अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले आर्थिक तथा प्राविधिक दुवै किसिमको सहयोग गर्दै आएको छ।
एअरलिफ्ट टेक्नोलोजीका निर्देशक मिलन पाण्डे का अनुसार फोहर सङ्कलनमा प्रयोग हुने ड्रोनहरू झण्डै १५ मिटर प्रति सेकेन्डको गति र माइनस १५ डिग्री सेल्सियससम्मको चिसोमा काम गर्न सक्छन्। उनका अनुसार ६ हजार १३० मिटर उचाइमा रहेको फोहर ड्रोनमार्फत आधार शिविरमा ल्याउने कार्य भइरहेको छ।
फोहर व्यवस्थापन भने सगरमाथा प्रदूषण नियन्त्रण समिति र खुम्बु पासाङल्हामु गाउँपालिका को सहकार्यमा भइरहेको छ। सन् २०२४ मा मात्रै सगरमाथाको क्याम्प–१ बाट २३४ किलो र अमादब्लम हिमालबाट ६४१ किलो फोहर सङ्कलन गरिएको थियो। नेपाल पर्वतारोहण सङ्घका प्रथम उपाध्यक्ष तथा आरोही मिङ्मा डेभिड शेर्पा ले आरोहीहरूले सगरमाथामा फोहर छाड्ने गरेकोले समस्या बढिरहेको बताए। उनका अनुसार फोहर सङ्कलनमा ठूलो खर्च र जोखिम हुने भएकाले प्रविधिको प्रयोगले निकै सहज र प्रभावकारी भएको छ। फोटोः साभार
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस