दाङ,१९ भदौ । दाङको तुलसीपुरमा खुकुरी प्रहार गरी फरार रहेका पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । खुकुरी प्रहारबाट दुईजना घाइते भएका छन् ।
तुलसीपुर उपमहानगरपालिका–६ स्याउली बजारस्थित विष्णु नास्ता पसल नजिक बिहिबार बिहान भएको खुकुरी प्रहार प्रकरणमा प्रहरीले पाँच जना युवालाई नियन्त्रणमा लिएको छ ।
घटनामा घाइते भएका तुलसीपुर–५ बसपार्कका २१ वर्षीय आयुष बिक र १९ वर्षीय प्रवेश योगीलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगन्जस्थित संजिवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिमा पठाइएको छ । आयुषको टाउको र ढाडमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ भने योगीको बायाँ हातमा चोट लागेको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सुर्य बहादुर राना मगरको कमाण्डमा खटिएको टोलीले घटनामा संलग्न भएको आरोपमा तुलसीपुर–४ रक्षा चौरबाट पाँच जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा तुलसीपुर–६ गोलौरा बस्ने १८ वर्षीय जीवन बिक, बसपार्क बस्ने १८ वर्षीय राजेश परियार, १९ वर्षीय नविन राना, १८ वर्षीय बसन्त परियार र १८ वर्षीय नविन सुनार रहेका छन् ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस