काठमाडौं, २० भदौ। नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यताको विषय विधान महाधिवेशनको छलफलमा नपर्ने स्पष्ट पारेका छन्।
शुक्रबारदेखि गोदावरीमा सुरू भएको एमाले विधान महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले भण्डारीलाई लक्षित गर्दै विधान महाधिवेशनसँग सम्बन्धित विषय मात्रै छलफल हुने बताए। उनका अनुसार अरू विषय पार्टीका सम्बन्धित कमिटीमा मात्रै उठाइने छन्।
“ती विषय विधान महाधिवेशनसँग सम्बन्धित होइनन्। सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो वा केन्द्रीय कमिटीले छलफल गर्दै जानेछ। विधान महाधिवेशन विधानमै केन्द्रीत भएर अघि बढ्छ,” ओलीले भने।
प्रधानमन्त्री ओलीले पार्टीका कतिपय विषयहरू अनावश्यक रूपमा संवेदनशील बनाइएको आरोप लगाउँदै राजनीति, सांगठानिक र विधानसम्बन्धी प्रस्ताव प्रस्तुत भएपछि मात्रै समूहगत छलफलमार्फत अन्य विषयहरू समेट्न सकिने बताए।
यसअघि बिहीबार बसेको एमाले सचिवालय बैठकले पनि विद्या भण्डारीको पार्टी सदस्यताबारे महाधिवेशनमा छलफल नहुने निर्णय गरिसकेको थियो।
उपमहासचिव प्रदीप ज्ञवालीले पनि पूर्वराष्ट्रपति भण्डारीको सदस्यताको विषय केन्द्रीय कमिटी बैठकले नै टुंगो लगाइसकेको भन्दै महाधिवेशनमा यसलाई एजेन्डा नबनाइने बताए। “यसलाई लिएर पक्ष–विपक्षी भइराख्नुपर्ने आवश्यकता छैन,” उनले स्पष्ट पारे।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस