काठमाडौँ,२२ भदौ । गत आर्थिक वर्ष २०७८/७९ मा म्याग्दी जिल्लाबाट करिब एक अर्ब रुपैयाँ बराबरको आलु र सुन्तला बिक्री भएको छ। जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार आव २०८१/८२ मा ६० करोड रुपैयाँको आलु र ३३ करोड ४६ लाख रुपैयाँ बराबरको सुन्तला बिक्री भएको हो।
कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाका अनुसार गत वर्ष १,८२० हेक्टर क्षेत्रमा उत्पादन भएको ३५,४९० मेट्रिकटन आलु प्रतिकिलो न्यूनतम ३५ रुपैयाँ दरले बिक्री हुँदा ६० करोड रुपैयाँको कारोबार भएको हो। त्यस्तै ४२५ हेक्टर क्षेत्रमा उत्पादन भएको ४,७८१.३ मेट्रिकटन सुन्तला प्रतिकिलो ८० रुपैयाँमा बिक्री भएको बताइएको छ।
बेनी, पोखरा, काठमाडौँ र चितवनका बजारमा म्याग्दीको आलु र सुन्तला बिक्री भइरहेको छ। क्षेत्रफल विस्तार, अनुकूल मौसम र रोग/कीराको कम जोखिमका कारण उत्पादन वृद्धि भएको केन्द्रले जनाएको छ।
आर्थिक वर्ष २०८०/८१ मा १,७५० हेक्टर क्षेत्रमा ३१,४५० मेट्रिकटन आलु र ३,६०० मेट्रिकटन सुन्तला उत्पादन भएको थियो। कृषि ज्ञान केन्द्रले ‘क्रपकटिङ’ विधिबाट जिल्लामा फलफूल, तरकारी र खाद्यबालीको तथ्याङ्क संकलन गर्दै आएको छ।
जिल्लाका अन्नपूर्ण, रघुगङ्गा र बेनी नगरपालिकाका विभिन्न स्थानहरूमा आलु उत्पादन हुने गर्छ भने २०० भन्दा बढी सुन्तला बगैँचा विभिन्न गाउँमा फैलिएका छन्। सवारीसाधनको पहुँचले उत्पादन भएको आलु र सुन्तला सहजै बजारमा पुगेको केन्द्रले जनाएको छ।
कृषि ज्ञान केन्द्र र राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाले जिल्लामा आलु र सुन्तलाखेती विस्तार तथा प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेका छन्। गत आर्थिक वर्षमा ४२ वटा फार्म तथा समूहमा आबद्ध १६४ किसान परिवारले बगैँचा सुदृढीकरण र विस्तारमा सहयोग पाएका छन्।
केन्द्रले बीउ, यान्त्रिकरण, सिँचाइ पूर्वाधार, प्याकेजिङ र ढुवानीका लागि ८७ लाख रुपैयाँभन्दा बढी अनुदान उपलब्ध गराएको छ। यस वर्ष सुन्तलाजात फलफूल बगैँचा स्थापना तथा विस्तारका लागि २६ लाख रुपैयाँको बजेट उपलब्ध भएको छ भने आलु जोन कार्यक्रमले अन्नपूर्ण र रघुगङ्गा गाउँपालिका तथा बेनी नगरपालिकामा आलुखेती विस्तारमा सहयोग गर्दै आएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस