after_navbar

पसिना, श्रम र मेहन्त खरानी भयो : डिल्ली बहादुर चौधरी


भदौ २, २०८२


दाङ,२९ भदौ । हालैको जेनजी आन्दोलनका क्रममा आगजनी र लुटपाटका कारण घरसमेत जलेपछि राजनीतिक तथा सामाजिक अभियन्ता डिल्लि बहादुर चौधरीले सामाजिक सञ्जालमार्फत आफ्ना पीडा र प्रतिबद्धता सार्वजनिक गरेका छन्।

ad

चौधरीले आन्दोलनमा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। तर, आन्दोलनको नाममा भएको घुसपैठ, निजी सम्पत्ति जलाउने, लुटपाट गर्ने, चोरी–डकैतीजस्ता गतिविधि भने स्वीकार्य नहुने उनले स्पष्ट पारेका छन्।

“मेरो घर मात्र जलेको छैन, मेरो चार दशकको श्रम, पसिना र मेहन्त खरानी भएको छ,” चौधरीले लेखेका छन्। रोल्पा–रुकुममा मासिक ३०० रुपैयाँको जागिरबाट सुरु गरेर विदेशका विश्वविद्यालयमा अध्यापन र बचतमार्फत जम्मा गरेको सम्पत्ति प्रतिशोधी रूपमा जलाइएको आरोप पनि उनले लगाएका छन्।

चौधरीले आफू कुनै अनियमितताबाट नभई संघर्ष र ईमानदार श्रमबाट उभिएको व्यक्ति भएको उल्लेख गर्दै भनेका छन्, “यो मेरो परिवारको सपना थियो, तर राजनीतिक प्रतिशोधले त्यसलाई खरानी बनाइदियो।”

माओवादी द्वन्द्वकाल, मुक्तकमैया अभियानदेखि पञ्चायत कालसम्मको संघर्ष स्मरण गर्दै उनले वर्तमान पीडाले आफूलाई नअत्ताउने बताए। “अहिले त केवल घर जलेको छ, मन जलेको छैन। आँट, साहस र क्षमता अझै बाँकी छ,” उनले भनेका छन्।

चौधरीका अनुसार घरमा चोरी, लुटपाटसहित गरगहना, रकमसमेत लुटिएको छ। साथै मिथ्या प्रचार गरिएको आरोप पनि उनले लगाएका छन्। यस्ता कुकृत्य गर्नेहरूमाथि उचित कानुनी कारबाही हुनुपर्ने उनले जोड दिए।

जीवनभर सामाजिक विकास, विपन्न समुदाय, थारु, गरीब तथा पछाडि परेका वर्गको अधिकार र उत्थानका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै चौधरीले अन्त्यमा भनेका छन्, “म अझै समाज, जनता र विकासका लागि समर्पित रहनेछु।”

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="