अमृत काजी शर्मा,२९ भदौ। जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते आगलागीबाट पूर्ण रूपमा जलेर नष्ट भएको मालपोत कार्यालय तुलसीपुरमा आजदेखि सरसफाइ सुरु गरिएको छ।
नेपाल लेखापढी कानुन व्यवसायी एशोसियसन इकाई समिति तुलसीपुरका कानुन व्यवसायी तथा मालपोत कार्यालयका कर्मचारीहरूले संयुक्त रूपमा सरसफाइ अभियान थालेका हुन्।
तुलसीपुर उपमहानगरपालिका–६ अमिलिया रोडस्थित भाडाको भवनमा रहेको मालपोत कार्यालयलाई आन्दोलनकारीहरूले आगो लगाइदिएपछि उपमहानगरपालिका, बबई गाउँपालिका, दंगिशरण गाउँपालिका र शान्तिनगर गाउँपालिकाका जग्गाधनीका मोठ, श्रेष्ता, तामेली लगायतका महत्त्वपूर्ण कागजात र फर्निचर पूर्ण रूपमा नष्ट भएका छन्।

मालपोत कार्यालयका सूचना अधिकारी शान्तराज गौतमका अनुसार केही आधा जलेका मोठहरू व्यवस्थापन गरिएको भए पनि कार्यालयको अधिकांश अभिलेख खरानी बनेका छन्। “कार्यालय पूर्ण रूपमा जलेको अवस्थामा भएकाले केही दिन व्यवस्थापन नहुँदासम्म सेवा बन्द रहनेछ,” गौतमले जानकारी दिए।
उता, मालपोत कार्यालयदेखि पूर्वपट्टि रहेका नेपाल लेखापढी कानुन व्यवसायी एशोसियसन इकाई समिति तुलसीपुरअन्तर्गतका व्यवसायीहरूको करिब २० वटा सटरमा समेत आगो लगाइदा झन्डै पचास लाख रुपैयाँभन्दा बढीको क्षति भएको अध्यक्ष विनोद न्यौपानेले बताए ।
उनका अनुसार, त्यहाँ रहेका फर्म तथा व्यक्तिगत भू–सेवामा कामको सिलसिलामा छोडिएका सेवाग्राहीका सक्कल नागरिकता, लालपुर्जा, लिखतलगायतका महत्त्वपूर्ण कागजात पनि जलेर नष्ट भएका छन्।
आन्दोलनकारीहरूले त्यही क्रममा नजिकैका उच्च अदालत तुलसीपुर, लोक सेवा आयोग कार्यालय र किराना तथा नास्ता पसलमा समेत आगजनी गरेर पूर्ण रूपमा ध्वस्त बनाएका छन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस