after_navbar

जिल्ला ट्राफिक कार्यालय दाङलाई भौतिक सामग्री सहयोग


असोज ०३, २०८२


दाङ,३ असोज । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण क्षतिग्रस्त बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङलाई विभिन्न संघ–संस्था र व्यक्तिहरूको सहयोगमा भौतिक सामग्री प्रदान गरिएको छ ।

ad

एच. आर. मिडिया हाउस प्रालिको पहलमा गरिएको सहयोगअन्तर्गत कार्यालयलाई दुईवटा दराज, सोफा सेट, दुईवटा टेबल, पाँच थान कुर्सीलगायत करिब डेढ लाख रुपैयाँभन्दा बढीको सामग्री उपलब्ध गराइएको हो ।

सहयोग गर्नेहरूमध्ये हनुमान इट्टा उद्योगका सञ्चालक मोहन घर्तीले करिब ८० हजार रुपैयाँ बराबरको सामग्री उपलब्ध गराएका छन् । त्यस्तै, शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत, ग्लोबल ओरियन्स नेपाल प्रालि दाङ बिक्री केन्द्र र एच. आर. मिडिया हाउस प्रालिले पनि आवश्यक सामग्री सहयोग गरेका छन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले विषम परिस्थितिबाट देशलाई अगाडि बढाउन सबैको भूमिका आवश्यक रहेको बताए । उनले ट्राफिक कार्यालय अझै पनि क्षतिग्रस्त अवस्थामै रहेको उल्लेख गर्दै सामाजिक सहयोगलाई प्राथमिकतामा राख्न आग्रह गरे । त्यस्तै महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले पत्रकारले समाचार संकलन मात्र नभई सामाजिक उत्तरदायित्वमा पनि सक्रिय हुनुपर्नेमा जोड दिए ।

एच. आर. मिडिया हाउसका प्रबन्धक एच. आर. मगरले आन्दोलनका क्रममा कार्यालयमा भएको क्षति देखेपछि तुलसीपुरका विभिन्न व्यवसायीसँग सम्पर्क गरी सहयोग जुटाएको जानकारी दिए । उनले मिडियाले समाचार मात्र नभई सामाजिक गतिविधिमा पनि संलग्न हुनुपर्ने बताए ।

सहयोग ग्रहण गर्दै ट्राफिक कार्यालय दाङका प्रमुख ओपेन्द्रबहादुर बमले सहयोगीहरूप्रति आभार व्यक्त गर्दै अझै कम्प्युटर र प्रिन्टरको आवश्यकता रहेको बताए ।

उनले सहयोगी सामग्रीले कार्यालय सञ्चालनमा सहजता ल्याउने र ट्राफिक प्रहरीको आत्मबल उच्च बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="