दाङ,५ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन्जी आन्दोलनका क्रममा दाङ जिल्लामा भएका आगजनीबाट प्रभावित कार्यालयहरूको आइतबार अनुगमन गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिकालो भवन, उपमहानगरपालिका भित्र पर्ने उच्च अदालतदेखि विभिन्न सरकारी कार्यालय र राजनीतिक दलका कार्यालयसम्म पुगेर उनले आगजनीले पारेको क्षति अवलोकन गरेका हुन् ।
अनुगमनपछि मुख्यमन्त्री आचार्यले सेवा प्रवाह नरोकिने बताउँदै आवश्यक परे टेन्ट टाँगेरै भए पनि काम अघि बढाइने स्पष्ट पारे।
“जेन्जीको नाममा घुसपैठ गरेर राज्यलाई नै समाप्त गर्नेगरी आगजनी गरियो। यस घटनाले ठूलो क्षति भएको छ,” सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने , “मालपोत कार्यालय, नापी कार्यालय जस्ता नागरिकको दैनिक सेवासँग प्रत्यक्ष जोडिएका कार्यालयहरू खरानी भएका छन्। धेरै महत्वपूर्ण कागजपत्र नष्ट भएका छन्, जसलाई पुनः बनाउन गाह्रो हुन्छ।”
मुख्यमन्त्री आचार्यले आगजनी र तोडफोडले कसैलाई पनि फाइदा नहुने बताउँदै कर्मचारी र सेवाग्राहीको मनोबल उच्च राख्न आफूहरू निरन्तर अनुगमनमा रहेको जानकारी दिए।
अनुगमनमा दाङका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, स्थानीय तहका प्रतिनिधि तथा सरोकारवालाको उपस्थिति थियो।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार भदौ २४ गतेको आन्दोलनका क्रममा १३२ सरकारी कार्यालय, ६७ निजी सम्पत्ति, ५२ राजनीतिक दलका कार्यालय र १४ प्रहरी इकाइमा तोडफोड, आगजनी तथा लुटपाट भएको थियो। सबैभन्दा बढी क्षति दाङ जिल्लामा पुगेको प्रहरीले जनाएको छ, जहाँ ७० संरचनामा तोडफोड र आगजनी भएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस