दाङ,९ असोज । तुलसीपुर उपमहानगरपालिकालाई ज्ञान ज्योति एजुकेशन फाउण्डेशनले सहयोग सामग्री प्रदान गरेको छ । तुलसीपुर उपमहानगरपालिका–६ बरुवागाउँस्थित ज्ञानज्योति फाउण्डेशन प्रालिले बिहिबार आगजनीका कारण क्षति पुगेको उपमहानगरलाई अत्यावश्यक सामग्री हस्तान्तरण गरेको हो।
गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा पालिकामा आगजनी हुँदा दुईवटा भवन पूर्ण रूपमा नष्ट भएका थिए। कार्यालयका सबै सामग्री जलेर सेवा प्रवाहमा गम्भीर अवरोध सिर्जना भएपछि फाउण्डेशनले तत्काल आवश्यक सामग्री उपलब्ध गराएको हो।
फाउण्डेशनले ९ थान कम्प्युटर, ४ थान प्रिन्टर, ३ थान स्क्यानर, १० थान दराज, १२ थान कुर्सी, २ थान सोफा र २० थान प्लास्टिकका कुर्सी हस्तान्तरण गरेको सिइओ सुरेन्द्र जिसीले जानकारी दिए।
कार्यक्रममा बोल्दै सिइओ जिसीले आपतकालीन परिस्थितिमा सरकार र समुदायलाई सकेको सहयोग गर्नु सबैको सामाजिक जिम्मेवारी भएको बताए। संस्थापक अध्यक्ष टिकाबहादुर जिसीले पालिकाको दैनिक कार्य सञ्चालन सहज बनाउन तुरुन्तै आवश्यक सामग्री उपलब्ध गराइएको उल्लेख गर्दै, सबैको साथ र सहयोगले पालिका चाँडै सामान्य अवस्थामा फर्किने विश्वास व्यक्त गरे।
नगर प्रमुख टिकाराम खड्काले फाउण्डेशनलाई धन्यवाद व्यक्त गर्दै भने, “यो सहयोगले उपमहानगरलाई पीडाको घडीमा मलमपट्टी लगाउने काम गरेको छ। यसले कार्यालय सञ्चालन सहज हुने र सेवाग्राहीलाई राहत मिल्नेछ।”
जेनजी प्रदर्शनका क्रममा उपमहानगरपालिकासहित विभिन्न सरकारी कार्यालयमा आगजनी हुँदा अहिले पालिकाले अस्थायी टहरामार्फत सेवा प्रवाह गर्दै आएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस