after_navbar

तुलसीपुर कारागारबाट भागेका चार कैदीबन्दी पक्राउ


असोज ०, २०८२


दाङ,९ असोज । दाङ प्रहरीले कारागारबाट भागेका चारजना कैदीबन्दीलाई पक्राउ गरेको छ । प्रहरीले भदौ २४ गते तुलसीपुर कारागारबाट भागेकामध्ये चार जना कैदी बन्दीलाई पक्राउ गरी कारागारमा बुझाएको छ।

ad

आगुऔषध मुद्दामा सजाय भुक्तान गरिरहेका दंगीशरण गाउँपालिका–७ का कुन्जन थापा, जबरजस्ती करणी मुद्दाका घोराही उपमहानगरपालिका – २ का मुकेश विक, लमही नगरपालिका–८ का कर्तव्य ज्यान मुद्दाका मोतिलाल चौधरी र सोही ठाउँकै चोरी मुद्दामा सजाय भुक्तान गरिरहेका ओमप्रकाश घर्ती पक्राउ परेका छन्।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले लमहीका दुई जनालाई मंगलबार र बाँकी दुई जनालाई बिहीबार पक्राउपछि तुलसीपुर कारागारमा बुझाइएको जानकारी दिए।

भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा भागेकामध्ये अझै एक सय सात जना कैदी फर्किएका छैनन्। तीमध्ये आठ जना भारतीय नागरिक पनि भागेका छन्।

कुल १२ जना भारतीय नागरिकले सजाय भुक्तान गरिरहेकोमा चार जना भने भागेर नगएको तुलसीपुर कारागारका प्रमुख गिरबहादुर सेजुवालले बताए।

पुनः पक्राउ परेकामध्ये १५ जना दाङदेखि बाहिरका विभिन्न जिल्ला कारागारमा तत्कालका लागि राखिएका छन्।

दाङभन्दा बाहिर विभिन्न जिल्लाहरूमा पक्राउ परेका उनीहरूलाई हाल सम्बन्धित जिल्ला कारागारहरूमै राखिएको जेलर सेजुवालले बताए।

भदौ २४ गते तुलसीपुर कारागारका दुई ब्लकबाट कुल दुई सय ५३ कैदी भागेका थिए। तीमध्ये एक सय ४६ जना पुनः पक्राउ परेका छन्।

तुलसीपुर कारागारमा कुल चार सय ७९ कैदीबन्दी थिए। तीमध्ये दुई जना महिला भने हालसालै सजाय भुक्तान गरी निस्किएको जेलर सेजुवालले बताए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="