काठमाडौँ,१० असोज । काठमाडौं उपत्यकाबाट दसैं मनाउन घर फर्कनेको संख्या दिनानुदिन बढ्दै गएको छ। सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका अनुसार घटस्थापनादेखि बिहीबार साँझसम्म दुई लाख २० हजार यात्रुले विभिन्न नाकाबाट काठमाडौं छाडेका छन्।
महासचिव भरत नेपालका अनुसार हालसम्म बिपी राजमार्गबाट मात्र १० हजार सार्वजनिक गाडी उपत्यकाबाट गुडिसकेका छन्। घटस्थापनापछि बिपी राजमार्गबाट दैनिक तीन हजार पाँच सय, अरनिको राजमार्गबाट दैनिक ३५०, मुग्लिन–पोखरा खण्डबाट दैनिक १,५०० तथा टोखा रुटबाट करिब १०० गाडी बाहिरिने गरेका छन्।
मुग्लिन–नारायणघाट खण्ड अवरुद्ध हुँदा पछिल्ला तीन दिन त्यस क्षेत्रमा यात्रा गर्ने यात्रुहरू रोकिँदा वैकल्पिक तीन रुट ९त्रिभुवन राजमार्ग, कान्ति लोकपथ र दक्षिणकाली० अत्यधिक व्यस्त भएका छन्।
नयाँ बसपार्क सञ्चालन गर्ने लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरका अनुसार सामान्यतया दैनिक २५० बस बाहिरिने बसपार्कबाट अहिले दैनिक ५०० बस छुट्न थालेका छन्।
यात्रुको सहजताका लागि उपत्यका ट्राफिक प्रहरीले संघ–संस्थासँगको सहकार्यमा १५ स्थानमा सहायता कक्ष स्थापना गरेको छ।
यातायात व्यवसायीहरूका अनुसार दसैंमा लामो दूरीमा गुड्ने ठूलो बसले दैनिक २० हजार रुपैयाँसम्म र छोटो दूरीमा गुड्ने माइक्रोबसले ३ हजारदेखि ३ हजार पाँच सयसम्म आम्दानी गर्ने गरेका छन्। विद्युतीय गाडीले पेट्रोल–डिजेल गाडीभन्दा अझ बढी आम्दानी गर्ने पनि उनीहरूको भनाइ छ।
यात्रुको चापसँगै वर्षभरिको घाटा उठाउने आशामा व्यवसायीहरू खुसी देखिएका छन्। तर देशभरका मुख्य सडकहरूमा वर्षा र पहिरोका कारण अवरोध बढ्दा यात्रुहरू मर्कामा परेका छन्। मंगलबार मुग्लिन–नारायणघाट खण्डमा तुइन खोलामा ठूलो ढुंगासहितको पहिरो गएपछि सवारी साधन घण्टौँ रोकिँदा यात्रुलाई गन्तव्य पुग्न ढिलाइ भएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस