काठमाडौं,१० असोज । नेपाल उद्योग वाणिज्य महासंघले उद्योगी–व्यवसायी तथा आम सर्वसाधारणको सम्पत्तिमा भविष्यमा आक्रमण वा क्षति नहुने सुनिश्चितता कायम गर्न सरकारसँग आग्रह गरेको छ।
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा गएको टोलीले बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति तथा कानून मन्त्री अनिलकुमार सिन्हासँग भेटघाट गर्दै सो माग राखेको हो।
भेटका क्रममा महासंघले युवा पुस्ताको हालको आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति मात्र नभई उद्योग, प्रतिष्ठान, कार्यालय र निवासमा समेत तोडफोड र आगजनी भएकाले पीडितको मनोबल बढाउन सुरक्षाको ग्यारेन्टी जरुरी भएकोमा जोड दिएको थियो।
अध्यक्ष ढकालले आन्दोलनका क्रममा भएको क्षतिबाट देशभर करिब ८० अर्ब रुपैयाँ बराबरको उद्योग–व्यवसाय प्रभावित भएको जानकारी गराउँदै दोषीमाथि कडा कारबाही र सुरक्षाको वातावरण बनाउन आग्रह गरे। उनले भने, “देशको समुन्नतिका लागि अन्यौल अन्त्य र सुशासन कायम गर्न महासंघ सरकारसँग सहकार्य गर्न तयार छ। निजी क्षेत्रको योगदान अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत छ, त्यसैले निर्वाध रूपमा काम गर्न सक्ने वातावरण चाहिन्छ।”
मन्त्री सिन्हाले आन्दोलनका क्रममा भएको ठूलो क्षतिप्रति दुःख व्यक्त गर्दै पनि निजी क्षेत्रले देखाएको सहयोग र सदाशयता सकारात्मक रहेको बताए। उनले सरकार आम सर्वसाधारण तथा व्यवसायिक सुरक्षाप्रति गम्भीर रहेको र उद्योग–व्यवसायको पुनरोत्थानमा निजी क्षेत्रको सहयोग अपरिहार्य रहेको धारणा राखे।
महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले प्रत्येक आन्दोलनमा निजी क्षेत्रमाथि प्रहार हुने प्रवृत्ति रोक्न दृष्टिकोणमा परिवर्तन आवश्यक भएको बताए। उनले पुनर्निर्माणमा सम्भव भएसम्म स्वदेशी उत्पादनको उपयोग गर्नुपर्ने सुझाव पनि दिए। साथै, नेपालले २०२६ नोभेम्बरमा अल्पविकसित देश (LDC) को सूचीबाट बाहिरिने तयारीमा रहेकाले अहिलेको परिस्थितिमा सरकार संयुक्त राष्ट्रसंघसमक्ष स्तरोन्नति स्थगित गर्न आग्रह गर्नुपर्नेमा जोड दिए।
त्यस्तै, उपाध्यक्ष हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ र कोषाध्यक्ष भरतराज आचार्यले कानूनी राज्यको प्रत्याभूति दिनु आजको प्राथमिकता भएको बताए। उनीहरूले युवा पुस्ताको आन्दोलनले उठाएको भ्रष्टाचारमुक्त समाज र सुशासनको माग पूरा गर्ने अपेक्षा आम नागरिकको रहेको र सरकार त्यसतर्फ गम्भीर हुनुपर्नेमा जोड दिए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस