after_navbar

महिला रोजगारी र प्रभावित उद्योगलाई सहुलियत कर्जा सुविधा


असोज ११, २०८२


काठमाडौँ,११ असोज । महिला रोजगारीलाई प्राथमिकता दिने उद्योगलाई सहुलियत कर्जा सुविधा उपलव्ध गराइने भएको छ । कम्तीमा १०० महिलालाई रोजगारी प्रदान गरी निर्यातमूलक उद्योग सञ्चालन गर्ने संस्थालाई न्यूनतम ब्याजदरमा कर्जा उपलब्ध गराइने भएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको नयाँ एकीकृत निर्देशनअनुसार न्यूनतम २५ प्रतिशत मूल्य अभिवृद्धि गरी कूल उत्पादनको २५ प्रतिशत निर्यात गर्ने उद्योगलाई आधारदरमा बढीमा एक प्रतिशत बिन्दु प्रिमियम थप गरी कर्जा लिन सकिने व्यवस्था गरिएको छ ।

ad

त्यस्तै, जेनजी पुस्ताका प्रदर्शनका क्रममा असामान्य परिस्थितिबाट प्रत्यक्ष रूपमा प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिमा कार्यरत कर्मचारीलाई तलब–भत्ता लगायतका सुविधाका लागि आधारदरमा बढीमा ०।५० प्रतिशत प्रिमियम थप गरी कर्जा उपलब्ध गराइनेछ ।

यस्ता कर्जा एक वर्ष वा संस्था सञ्चालनमा आउन लाग्ने अवधिमध्ये जुन कम हुन्छ, त्यही अवधिसम्म मात्र प्रवाह हुनेछन् । यसरी प्रवाह भएका कर्जामा लाग्ने ब्याजदरमध्ये दुई प्रतिशत सरकारले छ महिनासम्म अनुदान स्वरूप वहन गर्नेछ । रोजगारदाता संस्थाले यसका लागि आगामी पुस मसान्तभित्र आवेदन दिनुपर्ने प्रावधान निर्देशनमा उल्लेख छ ।

यसबाहेक, जेनजी प्रदर्शनबाट प्रत्यक्ष रूपमा प्रभावित उद्योग वा प्रतिष्ठानले व्यवसायिक प्रयोजनका सवारीसाधन वा ढुवानीका साधन क्षति भई प्रतिस्थापन गर्नुपर्ने अवस्थामा ऋण–मूल्य अनुपात ८० प्रतिशत कायम गर्न सकिने व्यवस्था गरिएको छ ।

रसुवा र तातोपानी भन्सार नाकामा प्राकृतिक प्रकोपका कारण अवरोधग्रस्त कर्जाबारे पनि निर्देशनमा व्यवस्था गरिएको छ । प्रभावित ऋणीले अनुरोध गरेमा सम्बन्धित इजाजतप्राप्त संस्थाले व्यवसायमा परेको प्रभाव यकिन गरी आगामी पुस मसान्तभित्र पुनर्तालिकीकरण गर्न सक्नेछन् । तर, पुनर्तालिकीकरण भएका कर्जा गत असार मसान्तसम्म जुन वर्गमा थिए, सोही वर्गमा नै कायम गरिने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="