काठमाडौँ,११ असोज । मधेसमा मुख्यमन्त्री सतिस सिंहको सरकार अल्पमतमा परेपछि नयाँ सरकार गठनका लागि चार दलबिच सहमति भएको छ । सत्तारुढ दुई दलले समर्थन फिर्ता लिएपछि सिंहको सरकार कमजोर बनेको थियो ।
जनमत पार्टीका नेता महेश यादवका अनुसार कांग्रेस प्रदेश संसदीय दलका नेता कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति भइसकेको छ । उनले भने, ‘विभिन्न चरणको छलफलपछि कांग्रेसलाई नेतृत्व दिएर नेपाली कांग्रेस, नेकपा एमाले, जनमत र लोसपा मिलेर सरकार बनाउने सहमति भएको छ ।’
प्रदेश प्रमुख काठमाडौंमा रहेका कारण नयाँ सरकार गठनको प्रक्रिया केही ढिलो भएको जनाइएको छ । ‘प्रदेश प्रमुख आजै जनकपुर फर्किनुभयो भने आजै, नभए भोलिसम्म बहुमत सांसदहरूको हस्ताक्षरसहित पत्र पेस गर्ने तयारी छ,’ यादवले बताए ।
यद्यपि कुन दललाई कति मन्त्रालय दिने भन्ने विषयमा भने अझै सहमति हुन बाँकी रहेको उनले प्रष्ट पारे ।
जनमतले गत भदौ २८ गते आफ्नै सांसद एवं मुख्यमन्त्री बनेका सिंहलाई फिर्ता बोलाएको थियो । त्यसपछि नेपाली कांग्रेसले गत बुधबार सरकारबाट समर्थन फिर्ता लिएसँगै सिंहको सरकार अल्पमतमा पुगेको हो ।
मधेस प्रदेशमा सरकार बनाउन ५४ सांसदको बहुमत आवश्यक छ । नयाँ समीकरणअनुसार प्रदेशसभामा कांग्रेसका २२, एमालेका सभामुखसहित २४ ९एकजना निलम्बित बाहेक०, जनमतका १३ र लोसपाका ८ (एक निलम्बित बाहेक) सांसद छन् । यो संख्याले नयाँ सरकार बनाउन पर्याप्त बहुमत जुटाउने देखिन्छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस