काठमाडौँ,१२ असोज । नेपालमा मनसुनी वायुको प्रभाव रहिरहेकाले यस वर्षको दसैं अवधिभर पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले जारी गरेको दसैं बुलेटिनअनुसार अष्टमी, नवमी र दसमीका दिन विभिन्न प्रदेशका पहाडी तथा तराई भू–भागमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ ।
विभागका अनुसार असोज १४ गते अष्टमीका दिन बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्र तथा कोशी प्रदेशका पहाडी र तराई भू–भागमा वर्षा हुने सम्भावना छ । असोज १५ गते महानवमीका दिन कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा पानी पर्ने देखिएको छ । असोज १६ गते टीकाको दिन बागमती, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका पहाडी क्षेत्र, कोशी प्रदेशका पहाडी र तराई भू–भाग, साथै मधेस र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।
मौसमविद् विनोद पोखरेलले पनि दसैं अवधिभर वर्षा हुने र दसैंपछि समेत भीषण वर्षा हुन सक्ने औंल्याएका छन् । उनका अनुसार अक्टोबर ४ ९असोज १८० देखि अक्टोबर ७ ९असोज २१० सम्म भारी वर्षा हुने पूर्वानुमान छ ।
नेपालमा मनसुन याम सामान्यतया जेठ १८ देखि असोज १८ सम्म रहन्छ र यस अवधिमा सरदर १४७२ मिलिमिटर वर्षा हुने गरेकोमा यसवर्ष औसतभन्दा कम वर्षा भएको विभागले जनाएको छ । यद्यपि मनसुन अझै बाहिरिन बाँकी छ । गत वर्ष पनि मनसुन बहिर्गमनको समयमा भीषण वर्षा भएको थियो भने २०७८ सालमा मनसुन बाहिरिएपछि आएको भारी वर्षाले धानबालीमा ठूलो क्षति पुर्याएको स्मरण विभागले गराएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस