काठमाडौँ,१२ असोज । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि जापानका राजदूत माएदा तोरुबीच आज सिंहदरवारस्थित अर्थ मन्त्रालयमा शिष्टाचार भेट भएको छ । भेटमा नेपाल–जापानबीचको ऐतिहासिक मित्रता, नेपालको आर्थिक–सामाजिक विकासमा जापानले पुर्याउँदै आएको सहयोग र हालको राजनीतिक परिवेशबारे चर्चा गरिएको थियो ।
अर्थमन्त्री खनालले हालको सरकार विशेष परिस्थितिमा गठन भएको उल्लेख गर्दै तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु नै सरकारको मुख्य उद्देश्य रहेको जानकारी गराए । उनले पुनर्निर्माण र आर्थिक–सामाजिक विकासका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरे ।
उक्त अवसरमा निर्माणाधीन नागढुंगा सुरुङमार्ग परियोजना, तनहुँ जलविद्युत आयोजना, कोटेश्वर इंटरसेक्शन सुधार आयोजना तथा सिन्धुली सडक(बाढी प्रभावित)आपतकालीन पुनर्वास कार्यक्रमलगायतका विषयमा दुवै पक्षबीच विस्तृत छलफल भएको थियो ।
भेटमा अर्थ सचिव घनश्याम उपाध्याय र वैदेशिक सहायता समन्वय महाशाखाका सह–सचिव धनिराम शर्मा पनि उपस्थित रहेका थिए ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस