काठमाडौ,१३ असोज । वर्षा र बाढीपहिरोका कारण विभिन्न स्थानका ६ वटा राजमार्ग अवरुद्ध बनेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले सङ्खुवासभा, सिन्धुपाल्चोक र रसुवा जिल्लाका ६ ठाउँमा राजमार्ग अवरुद्ध रहेका जानकारी दिए ।
उनका अनुसार, सोमबार बिहानसम्मको विवरणअनुसार अविरल वर्षाका कारण सङ्खुवासभाको भोटखोला गाएँपालिका–४ बरुणमा कोसी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । सोही जिल्लाको मकालु गाउँपालिका–३, एकुवामा अविरल वर्षाका कारण कोसी राजमार्ग अवरुद्ध भएको उनले बताए । यो सडक विगत लामो समयदेखि अवरुद्ध रहेको छ ।
रसुवाको गोसाइँकुण्ड नगरपालिका–२ मा बाढीका कारण अवरुद्ध सडक खुल्न सकेको छैन । सडक अवरुद्ध हुँदा नेपाल–चीन जोड्ने नाका सञ्चालनमा आउन सकिरहेको छैन । आज रसुवाको गोसाइँकुण्ड नगरपालिका–२ तातोपानीमा पनि पहिरोले पासाङल्हामु सडकखण्ड अवरुद्ध भएको छ । पहिरो पन्छ्याउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।
सिन्धुपाल्चोकको सुनकोसी गाउँपािलका–७, एककिलोमा आइतबारदेखि परेको वर्षसँगै आएको पहिरोका कारण अरनिको राजमार्ग अवरुद्ध भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता घिमिरेले जानकारी दिए । उनका अनुसार सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२ बाह्रकिलोमा आज खसेको पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
प्रहरी नायब महानिरीक्षक घिमिरेका अनुसार पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरो पन्छाएर आज बिहानदेखि सडक सञ्चालनमा ल्याइएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस