दाङ,२० असोज । दाङको घोराही उपमहानगरपालिका–१ मा ६४ वर्षीय श्रीमान ढालबहादुर चौधरीको हत्या आरोपमा उनकी ६२ वर्षीया श्रीमती छायादेवी चौधरी पक्राउ परेकी छन्।
दाङका प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार शनिबार राति करिब १० बजेतिर आपसी विवादका क्रममा छायादेवीले श्रीमान ढालबहादुरको टाउकोमा टर्चलाइट प्रहार गरेकी थिइन्।
प्रहारबाट ढालबहादुरको टाउको फुटेर अत्यधिक रक्तश्राव भयो। त्यसकै कारण आइतबार बिहान उनी मृत फेला परेका हुन्।
घटनाको समयमा उनीहरू सँगै मदिरा सेवन गरेका थिए। सोही बेला विवाद हुँदा छायादेवीले ओछ्यानमै श्रीमानलाई टर्चलाइटले प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
घटनाको बेला घरको अर्को कोठामा बुहारी र नातिनातिनीहरू पनि रहेका थिए।
प्रहरीले हत्या आरोपमा छायादेवीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको डिएसपी शाहले जानकारी दिएका छन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस