काठमाडौं,२२ असोज । नेकपा एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेत बुधबार नेपाल प्रहरीको साइबर ब्युरोमा उपस्थित भएर बयान कागज गरेका छन्।
विद्युतीय कारोबार ऐनअन्तर्गतको मुद्दामा बस्नेतको बयान सरकारी वकिलको निर्देशनअनुसार लिइएको साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले जानकारी दिएका छन्। उनले भने, “उहाँ बिहान उपस्थित हुनुभएको थियो। सरकारी वकिलको निर्देशन बमोजिम उहाँको बयान कागज गराएका छौं। अहिले फर्किसक्नुभएको छ।”
यसअघि प्रहरीले जिल्ला अदालत काठमाडौंमा बस्नेतविरुद्ध पक्राउ पुर्जी मागेको थियो। तर अदालतले पुर्जी दिन अस्वीकार गरेपछि साइबर ब्युरोमा बयान कागज गरिएको हो।
कानुनअनुसार, कुनै पनि आरोपित वा प्रतिवादीको बयान सरकारी वकिलको कार्यालयमा लिनुपर्ने प्रावधान छ। बयान सरकारी वकिलको रोहबरमा लिइन्छ भने बयान कागज भने प्रहरी कार्यालयमै लिन्छ।
उक्त मुद्दामा एक महिलाले सामाजिक सञ्जालमार्फत आफ्नो चरित्र हत्या गरिएको आरोप लगाएकी थिइन्। सुरूमा उनी साइबर ब्युरोमा जाहेरी दिन पुगेकी थिइन्, तर त्यहाँ जाहेरी दर्ता नभएपछि हुलाकमार्फत सरकारी वकिलको कार्यालय काठमाडौं पठाइएको थियो।
जिल्ला सरकारी वकिलको कार्यालयले साइबर ब्युरोलाई असोज ५ गते पत्राचार गर्दै, महेश बस्नेतको फ्यान क्लब कुन नाममा खोलिएको हो भन्ने विषयमा थप अनुसन्धान गरी राय पेश गर्न निर्देशन दिएको थियो।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस