after_navbar

दसैँ अवधिमा एक करोड बढी मुल्यको खाद्यान्न बिक्री


असोज २२, २०८२



सुर्खेत,२२ असोज । कर्णाली प्रदेशस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, सुर्खेतले दसैँ अवधिमा एक करोडभन्दा बढी मूल्य बराबरको खाद्यान्न बिक्री गरेको छ।

ad

भदौ ३० गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको कम्पनीले दुई साताको अवधिमा रु १ करोड १३ लाख ५ हजार ७९१ बराबरको खाद्यान्न बिक्री गरेको जनाएको छ।

यसअघि दैनिक करिब रु १ लाखको दरले बिक्री हुँदै आएकोमा, दसैँ अवधिमा कारोबार दस गुणा बढेर दैनिक रु १५ लाख पुगेको कम्पनीका प्रादेशिक प्रमुख केशवराज बुढाले जानकारी दिए। उनका अनुसार दसैँ र तिहारलाई लक्षित गरी सहुलियत दरमा बिक्री सुरु गरेपछि कारोबारमा उल्लेखनीय वृद्धि भएको हो।

बुढाका अनुसार दसैँ र तिहारका लागि १५ हजार ५०० क्विन्टल चामल, १७ हजार क्विन्टल चिनी र २२ हजार लिटर तेलको कोटा निर्धारण गरिएको छ। हाल आइरन, जिङ्क, भिटामिन ए, फोलिक एसिड, भिटामिन बी–१२, थायमिन, नियासिन र पाइरिडक्सिनलगायतका पौष्टिक तत्वयुक्त ‘फोर्टिफाइड’ ९सुदृढ० चामलप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको छ।

सरकारले कर्णालीका नागरिकमा देखिएको कुपोषण घटाउने उद्देश्यले फोर्टिफाइड चामल वितरणमा विशेष जोड दिएको छ। चालु आर्थिक वर्षमा कर्णालीका नौ जिल्लाका लागि एक लाख क्विन्टल खाद्य अनुदान कोटा छुट्याइएको पनि उनले जानकारी दिए।

व्यापार कम्पनीकी सूचना अधिकारी शोभा रेग्मीका अनुसार भदौ ३० गतेयता ८३५ क्विन्टल चामल, १३१।११ क्विन्टल चिनी र १८ हजार ६६० लिटर तेल बिक्री भएको छ। कम्पनीले नागरिकका लागि सहुलियत दरमा खाद्य वितरण सेवा आगामी कात्तिक १० गतेसम्म सञ्चालन गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="