after_navbar

प्रहरी हवल्दार अधिकारीलाइ अदालतको सम्मान


असोज २४, २०८२


दाङ, २४ असोज । जेन्जी आन्दोलनको हिंसात्मक रुप लिँदै गएको भदौ २४ गते, धेरै सरकारी र निजी संरचनाहरू जलिरहेका बेला दाङ जिल्ला अदालत भने एक महिला सुरक्षाकर्मीको साहसिक कदमले जोगियो।

ad

जिल्ला अदालतमा ड्युटीमा रहेकी सहायक प्रहरी हवल्दार संगीता अधिकारीले सयौँ आन्दोलनकारीको भीडबीच एक्लै उभिएर अदालत जोगाएकी थिइन्। जब आन्दोलनकारीको भीड अदालत परिसरमा प्रवेश गरी तोडफोड र आगजनी गर्न थाले, उनले भिडलाई शान्त गर्न गुहार गरिन्।
“यो हाम्रो साझा सम्पत्ति हो, अदालत सबैको हो, कृपया यसलाई नफोडौं,” भन्दै उनले आन्दोलनकारीहरूलाई सम्झाइन्।

संगीताको अनुरोध र दृढताले धेरै आन्दोलनकारीलाई पछि हट्न बाध्य पार्‍यो। हातमा केही पनि नभए पनि उनले ज्यान जोखिममा राखी अदालतका फाँट, कागजात र भवन जोगाउन प्रयास गरिन्।
“म डेढ वर्षदेखि अदालतको सुरक्षामा खटिएकी थिएँ, आफ्नो कर्तव्य अनुसार जति सकिए गर्न खोजेँ,” उनले भनिन्, “सबै जोगाउन सकिएन, तर प्रयास गरेँ।”

उनको यही साहस र जिम्मेवारीबोध अहिले प्रहरी संगठनभित्र र बाहिर दुवै ठाउँ प्रशंसाको विषय बनेको छ।

अदालतले उनको योगदानको कदर गर्दै सम्मान गरेको छ।
दाङ जिल्ला अदालतले सहायक प्रहरी हवल्दार संगीता अधिकारीलाई नगदसहित सम्मानपत्र प्रदान गरेको हो। जिल्ला न्यायाधीश प्रकाश प्रसाद पण्डितले अदालत परिसरमै आयोजना गरिएको कार्यक्रममार्फत उनलाई सम्मान गरे।

अदालतका श्रेस्तेदार (उपसचिव) भूपाल भण्डारीका अनुसार, “संगीताले कार्यालय जोगाउन निर्णायक भूमिका खेलेकी थिइन्, जसले अदालतको सम्पत्ति र अभिलेख सुरक्षित रहन सहयोग पुर्‍यायो।”

अराजक भिडबीच कर्तव्यपालन र साहस देखाएकी हवल्दार अधिकारी अहिले “साहसी प्रहरी”का रूपमा चिनिन थालेकी छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="