काठमाडौं,२७ असोज । परराष्ट्र मन्त्रालयले हमासले कब्जामा लिएर गएका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अझै अज्ञात रहेको जनाएको छ।
सोमबार जारी विज्ञप्तिमा मन्त्रालयले आज रिहा हुने बन्दीहरूको सूचीमा विपिनको नाम रहने अपेक्षा गरिएको भए पनि इजरायली सेनाले सार्वजनिक गरेको सूचीमा उनको नाम समावेश नभएको उल्लेख गरेको छ।
‘आज बिहान इजरायलको स्थानीय समय अनुसार ७ः३० बजे इजरायली सेनाले इजरायलका लागि नेपाली राजदूत, विपिन जोशीका दाजु, आमा, बहिनी, इजरायली परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालयका अधिकारी सहितको भर्चुअल बैठक आयोजना गरी आज रिहा हुने बन्दीहरूको सूचीमा विपिन जोशीको नाम समावेश नभएको र उनको अवस्था अज्ञात रहेको जानकारी प्राप्त भएको हो। ’विज्ञप्तिमा उल्लेख छ।
मन्त्रालयले हमासको कब्जामा रहेका सबै जीवित बन्दीहरूको रिहाइ र मृत बन्दीहरूको शव हस्तान्तरण प्रक्रिया पूरा नभएसम्म यस विषयमा निरन्तर जानकारी अद्यावधिक गरिने जनाएको छ।
गाजा युद्धको क्रममा हमासले २०२३ अक्टोबर ७ मा आक्रमण गर्दा विपिन जोशीलाई नियन्त्रणमा लिएको थियो।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस