काठमाडौ,५ कार्तिक । रौतहटमा गुडिरहेको यात्रुबाहक बसमा अचानक आगलागी भएको छ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत चन्द्रपुर नगरपालिका–४, पश्चिम लच्का नजिक आज बिहान करिब सवा सात बजे बागमती प्रदेश–२–०३–००१ ख ५५५५ नम्बरको बसमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीले जानकारी दिए।
काठमाडौँबाट तिहार मनाउन यात्रु लिएर चन्द्रपुरतर्फ आइरहेको बसको ब्याट्रीको तार सर्ट भई आगो लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।
घटनाको सूचना पाएपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक रुपेश कुमार झाको नेतृत्वमा पुगेको प्रहरी टोली, स्थानीयवासी र बारुण यन्त्रको सहयोगमा करिब एक घण्टापछि आगो नियन्त्रणमा लिइएको बताइएको छ।
आगलागीका कारण बस पूर्ण रूपमा जलेर नष्ट भएको भए पनि यात्रुहरूले समयमै भागेर ज्यान जोगाएका छन्। घटनाका कारण केही समयका लागि पूर्व–पश्चिम राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको प्रहरीले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस