after_navbar

लिंक क्लिक गर्दा बैंकको पैसा गायब: तीनजना ‘स्क्यामर’ पक्राउ


कार्तिक २२, २०८२


काठमाडौ,२१ कार्तिक । सामाजिक सञ्जालमा आकर्षक विज्ञापन देखाएर बैंक खाताबाट रकम ठगी गर्ने एक गिरोहका तीन सदस्यलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ।

ad

पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–११ का ४० वर्षीय राजन गिरी, ओखलढुंगा चम्पादेवी गाउँपालिका–८ घर भई हाल काठमाडौँ बुढानिलकण्ठ बस्ने २६ वर्षीया मिना लकन्द्री, र भारत बिहारका २६ वर्षीय आदित्य कुमार रहेका छन्।

ब्युरोका अनुसार, उनीहरूले फेसबुकमा विभिन्न बैंकहरूको नाममा “सर्भे लिंकमा क्लिक गरी बोनस प्राप्त गर्नुहोस्” भन्ने प्रकारका आकर्षक विज्ञापन पोस्ट गरेर प्रयोगकर्ताहरूलाई प्रलोभनमा पार्थे। ती लिंकमा क्लिक गरेपछि प्रयोगकर्ताको बैंक खाताबाट रकम अनलाइनमार्फत अन्य खातामा सारिने गरी ठगी हुने गरेको थियो।

पीडितहरूबाट उजुरी प्राप्त भएपछि प्रहरीको प्राविधिक टोलीले अनुसन्धान अघि बढाएको र काठमाडौँको ठमेलस्थित छायाँ सेन्टर कम्प्लेक्सबाट ती तीनै जनालाई पक्राउ गरेको ब्युरोले जनाएको छ।

उनीहरूबाट नेपाली र विदेशी नगद, विभिन्न बैंकका एटीएम कार्ड, भारतीय सिम कार्ड, मोबाइल फोन र क्यासिनो कार्ड बरामद गरिएको छ।

साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिपक राज अवस्थीका अनुसार, पक्राउ परेकाहरूविरुद्ध विद्युतीय माध्यमसम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

प्रहरीले सामाजिक सञ्जालमा देखिने अपरिचित वा शंकास्पद लिंकमा क्लिक नगर्न सबैलाई सचेत रहन अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="