काठमाडौ,२४ कार्तिक । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको पथलैया–निजगढ सडकखण्डको १२ किलोमा आइतबार हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरका ४० वर्षीय राजकुमार चौधरी रहेका छन् ।
प्रहरी उपरीक्षक सन्तोष तामाङका अनुसार वन क्षेत्रबाट राजमार्गमा निस्किएको जङ्गली हात्तीले ना ४ ख १८३० नम्बरको ट्रकका चालक चौधरीलाई आक्रमण गरेको थियो । ज्यान जोगाउन ट्रकबाट ओर्लिएर भागेका चौधरीलाई राजमार्गदेखि केही भित्रै जङ्गलमा हात्तीले आक्रमण गरेको थियो ।
घटनापछि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, प्रहरी उपरीक्षक तामाङ, डिभिजन वन कार्यालयका प्रमुख राजिव झासहित सुरक्षा निकायका प्रमुखहरू हात्ती प्रभावित क्षेत्र पुगेका छन् ।
हात्ती जङ्गल पस्ने र पुनः राजमार्गमा निस्कने गरेका कारण दिनभर उक्त क्षेत्रमा यातायात सेवा प्रभावित बनेको छ । हात्तीलाई धपाउन प्रयास गरे पनि सफल हुन नसकिएको प्रहरीले जनाएको छ ।
हात्तीले आइतबार रातिदेखि नै उक्त क्षेत्रमा उपद्रो मच्चाइरहेको छ । राति करिब १० बजे हात्ती देखिएपछि नेपाली सेना र नेपाल प्रहरीको टोलीले भगाउने प्रयास गरेको थियो ।
डिभिजन वन कार्यालयका प्रमुख राजिव झाले हात्ती नियन्त्रणमा लिन चितवनबाट विज्ञ टोली आउँदै गरेको जानकारी दिएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रवक्ता एवं ट्राफिक प्रहरी नायब उपरीक्षक वकिल सिंहका अनुसार हात्तीका कारण राजमार्गमा यातायात सेवा अझै प्रभावित भइरहेको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस