after_navbar

चार दलीय समाजवादी मोर्चा विघटन


कार्तिक २७, २०८२


काठमाडौ, २६ कार्तिक । चार दलीय समाजवादी मोर्चा २८ महिनापछि विघटन भएको छ। समाजवादी क्रान्तिको आधार तयार पार्ने, राष्ट्रिय एजेन्डामा समान धारणा बनाउने र भविष्यमा पार्टी एकता गर्ने उद्देश्यले बनेको मोर्चा अन्ततः अस्तित्वमा नरहेको घोषणा गरिएको हो।

ad

मोर्चाका संयोजक समेत रहेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले बुधबार एक विज्ञप्ति जारी गर्दै मोर्चाबाट अलग भएको घोषणा गरेका हुन्।

विप्लवले जेनजी विद्रोहपछि नेपालको राजनीतिक परिवेशमा व्यापक परिवर्तन आएको र दलहरूबीच नयाँ किसिमका एकता तथा मोर्चाबन्दी सुरु भएकाले समाजवादी मोर्चाको औचित्य समाप्त भएको निष्कर्ष निकालेका छन्।

उनले भनेका छन्, ‘जेनजी विद्रोहपछि नेपालको राजनीतिक परिवेश र धारणाहरूमा व्यापक फेरबदल भएका छन्। समाजवादी मोर्चामा आबद्ध तीन पार्टीहरू एकता भएर नयाँ पार्टी गठन गरिसकेका छन्, यस्तो अवस्थामा मोर्चाको औचित्य समाप्त भएको छ।’

कात्तिक १९ गते मोर्चामा आबद्ध दलहरू — नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेपाल समाजवादीबीच एकता भएको थियो।

समाजवादी मोर्चा २०८० साल असार ४ गते गठित भएको थियो। त्यतिबेला पूर्व नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मिलेर मोर्चा घोषणा गरिएको थियो।

जसपा विभाजनपछि २०८१ साल साउन १ गते मोर्चाबाट बाहिरिएको थियो, सोही दिन महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी मोर्चामा समावेश भएको थियो।

मोर्चाले गठनदेखि अहिलेसम्म ५५ जिल्लामा संगठन विस्तार गरेको, दुई सय पालिकामा पहुँच बनाएको र सातै प्रदेशमा सन्देश सभा तथा काठमाडौँमा दुई पटक ठूला विरोध प्रदर्शन गरेको थियो।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="