काठमाडौ,२८ कार्तिक । विदेशी पर्यटकलाई ‘यात्रा सहजीकरण’ गर्ने बहानामा अनलाइनमार्फत ठगी गरेको अभियोगमा एक नेपाली नागरिक पक्राउ परेका छन्। साइबर ब्यूरोका अनुसार सुर्खेत बराहताल गाउँपालिका–३ का ४० वर्षीय विशु सिञ्जाली, अल्टिट्युड राइडर्स प्रालिका संस्थापक,लाई विदेशमा रहेका पर्यटकसँग ठगी गरेको आरोपमा पक्राउ गरी मुद्दा दर्ता गरिएको छ।
ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार रोल्पा प्रहरीको सहयोगमा पक्राउ परेका सिञ्जालीलाई काठमाडौँ ल्याएर काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको छ। अदालतले उनलाई अनुसन्धानका लागि पाँच दिन थुनामा राख्न म्याद दिएको छ।
अनुसन्धानबाट सिञ्जालीले आफू अल्टिट्युड राइडर्स प्रालि नामक कम्पनीका सञ्चालक भएको दाबी गर्दै म्यासेन्जरमार्फत पोल्यान्डका १३ पर्यटकलाई नेपाल भ्रमणका लागि मोटरसाइकल राइड, भोजन, बसोबास र अन्य आवश्यक सपोर्टसहितको सम्पूर्ण प्याकेज उपलब्ध गराउने आश्वासन दिएको खुलेको छ। सम्झौतापछि सात दिनभित्र ३० प्रतिशत रकम उठाए पनि उनले प्रतिवद्ध सेवा नदिई सम्पर्कविहीन भएको ब्यूरोले जनाएको छ।
विद्युतीय माध्यममार्फत ठगी गरिएको आरोपसहित पीडित विदेशी नागरिकले दिएको निवेदनपछि गरिएको खोजतलासमा सिञ्जाली रोल्पामा फेला परेको र त्यहीँबाट पक्राउ गरी काठमाडौँ ल्याइएको साइबर ब्यूरोले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस