after_navbar

आगामी निर्वाचनमा ३ दिन सार्वजनिक बिदा दिन सिफारिस


मङि्सर ०६, २०८२


काठमाडौ,५ मंसिर । नीति अनुसन्धान प्रतिष्ठानले आगामी निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा दिन सरकारले व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ।

ad

कार्यकारी अध्यक्ष प्राध्यापक डा. लेखनाथ शर्माको नेतृत्वमा गरिएको अध्ययनले निर्वाचनको दिनसहित अघि र पछि गरी तीन दिन बिदा दिए अधिकांश नागरिकलाई आफ्नै निर्वाचन क्षेत्र र मतदान केन्द्रसम्म पुगेर सहज रूपमा मतदान गर्न सकिने निष्कर्ष निकालेको हो।

अध्ययनले मन्त्रिपरिषदको निर्णयमार्फत आवश्यक नीतिगत व्यवस्था गरी निर्वाचन प्रयोजनका लागि करिब तीन दिन बिदा दिनु उपयुक्त हुने उल्लेख गरेको छ।

त्यसैगरी, सुरक्षाकर्मी (म्यादी प्रहरीसहित), निजामती कर्मचारी, शिक्षकलगायत निर्वाचनमा खटिने सबै कर्मचारीलाई उनीहरू खटिएका केन्द्रमै समानुपातिक प्रणालीअन्तर्गत मतदान गर्ने व्यवस्था विद्यमान कानुनमै स्पष्ट रूपमा समेट्न सुझाव दिइएको छ।

अहिले लागू हुँदै आएको अभ्यासलाई अझ परिष्कृत र सरल बनाउन मतदाता नियमावली ऐन, २०७३ को दफा ३० संशोधन आवश्यक रहेको अध्ययनले उल्लेख गरेको छ।

यस्तै, खटिएका कर्मचारीले परिचयपत्रका आधारमा मतदानमा सहभागी हुन पाउने लचिलो व्यवस्था गर्नुपर्नेमा पनि अध्ययनले जोड दिएको छ।

प्रतिष्ठानले प्रतिवेदन केही दिनअघि नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाइसकेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="