दाङ, ७पुस । दाङको घोराहीस्थित भरतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्ष पदमा शंकर गौतम सातौँ पटक निर्विरोध निर्वाचित भएका छन् ।
संस्थाको नवौँ अधिवेशनअन्तर्गत सोमबार भएको उम्मेदवारी मनोनयन दर्ता प्रक्रियामा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष गौतमको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।
२०५८ सालमा कोषाध्यक्षबाट संस्थागत यात्राको सुरुआत गर्नुभएका गौतम २०६४ सालदेखि निरन्तर अध्यक्षको जिम्मेवारीमा रहँदै आएका छन् । आठौँ कार्यकालका लागि आइतबार दिउँसो १२ बजेदेखि २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो ।
भरतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका कानुनी सल्लाहकार तथा निर्वाचन अधिकृत निर्मल गौतमका अनुसार ५ जना पदाधिकारीसहित ११ सदस्यीय कार्यसमितिका सबै पदमा एक–एक जनाको मात्र उम्मेदवारी परेको छ ।
नयाँ नेतृत्वका लागि उपाध्यक्षमा जंगबहादुर जिसी, सचिवमा मिनराज लम्साल, सहसचिवमा शान्तराज अधिकारी र कोषाध्यक्षमा सुनिता आचार्यको एकल उम्मेदवारी परेको छ ।
यसैगरी कार्यसमिति सदस्यमा हरिप्रसाद रिजाल, शिवकुमार भण्डारी, शारदा न्यौपाने, गीता पोख्रेल, मुना पोख्रेल र रोमा जिसीको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत गौतमले जानकारी दिए ।
उम्मेदवारी दिएका मध्ये उपाध्यक्ष जिसी यसअघि पनि उपाध्यक्ष नै रहेको थिइन् । सचिवमा उम्मेदवारी दिएका लम्साल यसअघि सहसचिव रहेका थिए भने सहसचिवका उम्मेदवार शान्तराज अधिकारी र कोषाध्यक्षकी उम्मेदवार सुनिता आचार्य कार्यसमिति सदस्य थिए । कार्यसमिति सदस्यहरूमध्ये चार जना नयाँ र दुई जना पुरानै अनुहार रहेका छन् ।
उम्मेदवारी दर्ता गरेका उम्मेदवारहरूले भोलि मंगलबार बेलुकी ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन् । त्यसपछि निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरिने निर्वाचन अधिकृत गौतमले जानकारी दिए ।
भरतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको २३औँ साधारणसभा गत शनिबार घोराहीमा सम्पन्न भएको थियो । यदि कुनै पदमा एकभन्दा बढी उम्मेदवारी परेको खण्डमा आगामी शनिबार पुस १२ गते निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस