after_navbar

तुलसीपुर महोत्सवमा आज गायिका समिक्षा आउदै


पुष ०, २०८२


दाङ, ९ पुस । दाङको तुलसीपुरमा जारी प्रथम तुलसीपुर महोत्सव–२०८२ को छैटौँ दिन आज चर्चित गायिका समिक्षा अधिकारीको विशेष प्रस्तुति रहने भएको छ । गायिका अधिकारीको उपस्थितिसँगै आज महोत्सवमा दर्शकको उल्लेख्य सहभागिता रहने अनुमान गरिएको छ ।

ad

आजको सांगीतिक कार्यक्रममा समिक्षा अधिकारीसँगै गायक दीपक वली, सन्दिप सेन्चुरी तथा गायिका देवकुमारी खत्री लगायत कलाकारहरूको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ ।

महोत्सवमा दिनप्रतिदिन दर्शकको सहभागिता बढ्दै गएको महोत्सव मूल आयोजक समितिका संयोजक लालबहादुर केसीले बताए ।

सांगीतिक कार्यक्रमसँगै महोत्सवमा लन्डन ब्रिज र जलपरी आकर्षणका प्रमुख केन्द्र बनेका छन् । स्थानीय वस्तुको बजारीकरण तथा कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजनामा पुस ४ गतेदेखि महोत्सव सञ्चालन भइरहेको छ ।

दर्शकको भीड बढेसँगै व्यापार व्यवसाय पनि बढ्दै गएको भन्दै महोत्सवले तुलसीपुरको आर्थिक गतिविधिलाई थप चलायमान बनाएको महोत्सव मूल आयोजक समितिका सदस्य सचिव भद्रबहादुर वलीले बताए ।

महोत्सवमा रुकुम पश्चिमको सिस्नोदेखि जुम्लाको मार्सी चामलसम्म बिक्री भइरहेको छ । साथै सल्यानी खुकुरी तथा स्थानीय हस्तकलाका सामग्रीको पनि राम्रो बजारीकरण भइरहेको आयोजकले जनाएको छ ।
‘औद्योगिक वातावरणको सुधार, दिगो अर्थतन्त्रको आधार’ भन्ने मूल नाराका साथ सुरु भएको प्रथम तुलसीपुर महोत्सव पुस १९ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="