after_navbar

उम्मेदवारको बन्दसूची तयार गर्न निर्वाचन आयोगको आग्रह


पुष १२, २०८२


काठमाडौँ,१२ पुस। निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन दर्ता भएका सबै राजनीतिक दललाई कानुनबमोजिम उम्मेदवारको बन्दसूची तयार गर्न अनुरोध गरेको छ। आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४, प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ तथा प्रतिनिधिसभा समानुपातिक निर्वाचन निर्देशिका, २०८२ अनुसारको विधि, प्रक्रिया र आवश्यक प्रमाण कागजात पूरा गरी बन्दसूची तयार गर्न निर्देशन दिएको हो।

ad

आयोगका अनुसार तयार पारिएको बन्दसूची तोकिएको समयभित्र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्नुपर्नेछ। आयोगले २०८२ साल फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको निर्वाचन कार्यक्रम यसअघि नै निर्धारण गरिसकेको जनाएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७ बमोजिम तय गरिएको उक्त कार्यक्रम २०८२ साल ७ महिना ३० गते नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ।

प्रकाशित निर्वाचन कार्यक्रमअनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्ने मिति २०८२ साल ९ महिना १३ र १४ गते तोकिएको छ। राजनीतिक दलहरूले यी दुई दिन अपराह्न ४ बजेसम्म कार्यालय समयभित्र आयोग परिसरमा रहेको समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा बन्दसूची पेस गर्नुपर्ने आयोगले स्पष्ट पारेको छ।

यसैगरी, आयोगले राजनीतिक दलहरूले समानुपातिक निर्वाचनका लागि तयार पारेको उम्मेदवारको बन्दसूची निर्वाचन कार्यक्रममा उल्लेख गरिएको समयभित्र पेस गरेपछि वा पेस गर्नुअघि नै सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्न सक्ने जनाएको छ।

आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा निर्वाचनसम्बन्धी कानुनी व्यवस्था र तोकिएको समयसीमाको कडाइका साथ पालना गर्न सबै सम्बन्धित पक्षलाई अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="