after_navbar

दाङमा एकदिने माघ सांस्कृतिक महोत्सव हुँदै


पुष १४, २०८२


दाङ, १४ पुस । थारू समुदायको मौलिक पहिचान झल्काउने माघ सांस्कृतिक महोत्सव–२०८२ यस वर्ष एकदिने रूपमा दाङमा आयोजना हुने भएको छ। थारू समुदायको छाता संस्था थारू कल्याणकारिणी सभा दाङको आयोजनामा पुस १९ गते महोत्सव सञ्चालन हुने भएको हो।

ad

यसअघि हरेक वर्ष दुई दिनसम्म आयोजना हुँदै आएको महोत्सव यस वर्ष विभिन्न कारणले एकदिने मात्र आयोजना गर्न लागिएको सभाका अध्यक्ष अशोक चौधरीले जानकारी दिए। छोटो समयमै थारू कला, संस्कृति र परम्पराको समृद्ध प्रस्तुति दिने तयारी गरिएको उनले बताए ।

थारू समुदायको मौलिक कला, संस्कृति, भेषभूषा तथा जीवनशैलीको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको महोत्सव घोराहीस्थित जिल्ला समन्वय समितिको प्राङ्गणमा हुनेछ।

महोत्सवमा थारू समुदायको चर्चित मघौटा नाचसहित विभिन्न सांस्कृतिक नाचगान, झाँकी प्रदर्शन तथा सांस्कृतिक प्रस्तुतिहरू देख्न सकिने आयोजकले जनाएको छ। साथै थारू परम्परागत परिकारहरू महोत्सवको मुख्य आकर्षण रहनेछन्।

घोंघी, माछा, गंगटा, ढिक्री, अनडीको रोटी, आलुको अचारलगायत परम्परागत खानाका परिकारहरूको बिक्री तथा स्वाद लिन सकिने व्यवस्था गरिएको छ। यसका साथै थारू भाषामा प्रकाशित पुस्तकहरू तथा हस्तकलाका सामग्रीहरूको प्रदर्शनी तथा बिक्री पनि गरिनेछ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="