दाङ,१६ पुस । बिजौरी–१९ पकर्याका ठाकुर चौधरी तुलसीपुरमा जारी महोत्सवको स्थलभित्र भेटिन्छन्। नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तुलसीपुरले स्थानीय किसानहरूलाई निःशुल्क रुपमा स्टल उपलब्ध गराएपछि हस्तकलाका सामग्री बिक्री वितरणका लागि त्यहाँ पुगेका हुन्।
महोत्सवको मातृ जोनको २३ नम्बरमा उनको स्टल छ। एक सानो स्टलमा केवल सामग्री मात्र होइन, मेहनत, समय र सीपको कथा पनि सजिएको छ।
डेलवा, हटकेस, पेन होल्डर, टोकरीलगायतका विभिन्न हस्तकला सामग्रीले सजिएको चौधरीको स्टलमा सामानको मूल्य ४ सय रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म पर्छ। सामान्य देखिने यी सामग्री बनाउन भने लामो समय, धैर्य र निरन्तर मेहनत लाग्ने गर्छ।
“हस्तकला सजिलो काम होइन,” चौधरी भन्छन्, “एक–एक सामान बनाउन धेरै समय र मेहनत जान्छ। त्यसैले मूल्य अलि महँगो हुन्छ।”
स्थानीय सीप र उत्पादनलाई बजारसँग जोड्ने उद्देश्यले आयोजकले निःशुल्क स्टल उपलब्ध गराउँदा त्यसको प्रत्यक्ष फाइदा उनलाइ पुगेको हो । महोत्सव मूल आयोजक समितिले महोत्सवमा स्थानीय कृषि र घरेलु उद्योग प्रवर्द्धनका लागि निःशुल्क स्टल व्यवस्था गरिएपछि चौधरीले हस्तनिर्मित सामग्री बिक्री गर्ने अवसर पाएका हुन्।
ग्रीन फाउन्डेसनमार्फत तालिम प्राप्त प्रशिक्षार्थी र प्रशिक्षकबाट बनाइएका डेलवा, हटकेस, पेन होल्डर, टोकरीलगायतका सामग्री उक्त स्थलमा राखिएका छन्।
“हस्तकलाको मूल्य बुझ्ने ग्राहक भेटिन थालेका छन्,” उनी भन्छन्, “तर अझै पनि मेहनतभन्दा सस्तो खोज्ने सोच चुनौती बनेको छ।”
निःशुल्क स्टल उपलब्ध गराउँदा साना हस्तकर्मीलाई जोखिम बिना बजार परीक्षण गर्ने अवसर मिल्ने चौधरीको अनुभव छ। चौधरी मात्र होइन अहिले महोत्सवका कयौं स्थलहरू स्थानीय कृषि प्रवर्द्धनका लागि निःशुल्क रूपमा उपलब्ध गराइएका छन्।
महोत्सव मनोरञ्जन गर्ने स्थान मात्र नभई राष्ट्रिय तथा स्थानीय कलाकारहरूको पहिचान सँगै दाङको स्थानीय उत्पादन, संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने अवसर पनि भएको मूल आयोजक समितिका संयोजक लालबहादुर केसीले बताए।
महोत्सवस्थलमा निर्माण गरिएको लण्डन ब्रिजको नमूना र जलपरी आकर्षणका केन्द्र बनेका छन्। ती संरचना हेर्न युवापुस्ता र बालबालिकाको लामो लाइन देखिएको थियो। सल्यानबाट आएकी सीता साहुले यसपटकको व्यवस्थापन र आकर्षणले महोत्सव झनै रमाइलो बनेको बताइन्।
महोत्सवमा राखिएका स्टलहरूमा पनि शनिबार राम्रो चहलपहल देखिएको थियो। स्थानीय कृषि उपज, हस्तकला र होटल व्यवसायमा राम्रो कारोबार भएको व्यवसायीहरूले बताएका छन्।
नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजनामा सञ्चालन भइरहेको यो महोत्सवले दाङको पर्यटन प्रवर्द्धन र स्थानीय व्यापारलाई चलायमान बनाउने विश्वास गरिएको छ। महोत्सव पुस १९ गतेसम्म सञ्चालन हुनेछ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस