काठमाडौँ, १६ पुस । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल/मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको हो।
नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेल तथा मट्टितेलमा ५ रुपैयाँ र आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ६ रुपैयाँले मूल्य घटाइएको छ। तर खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ।
निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट बुधबार प्राप्त नयाँ खरिद मूल्यमा पेट्रोल प्रतिलिटर ४ रुपैयाँ १९ पैसा, डिजेल ५ रुपैयाँ ०६ पैसा र हवाई इन्धन प्रतिलिटर ८ रुपैयाँ १५ पैसा सस्तो भएर आएको छ। यद्यपि, एलपी ग्यास भने प्रतिसिलिण्डर १०० रुपैयाँ ३५ पैसाले महँगो परेको छ।
नयाँ मूल्यसूचीअनुसार पहिलो वर्गका क्षेत्रमा पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ ५० पैसा र डिजेल/मट्टितेल १३४ रुपैयाँ ५० पैसा कायम गरिएको छ। दोस्रो वर्गमा पेट्रोल १५८ रुपैयाँ र डिजेल/मट्टितेल १३६ रुपैयाँ तथा तेस्रो वर्गमा पेट्रोल १५९ रुपैयाँ र डिजेल/मट्टितेल १३७ रुपैयाँ कायम भएको छ।

त्यसैगरी, आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १२८ रुपैयाँ निर्धारण गरिएको छ। अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौँ, पोखरा र भैरहवाका लागि हवाई इन्धनको मूल्य क्रमशः अमेरिकी डलर ९७३, ७७१ र ७५९ प्रति किलो लिटर तोकिएको छ।
एलपी ग्यासमा घाटा रहेकाले उपभोक्ताको हितलाई ध्यानमा राख्दै मूल्य नबढाइएको निगमले स्पष्ट पारेको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस