जाजरकोट,१७ पुस । प्रहरीले भरुवा बन्दुकसहित पाँचजनालाई जाजरकोटबाट पक्राउ गरेको छ। अवैध सिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएपछि प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार बारेकोट गाउँपालिका–८ का ३६ वर्षीय प्रचण्डदेव सिंहसहित छ जना सिकार खेल्न जंगल गएका थिए । सोही क्रममा प्रचण्डदेव सिंहलाई भरुवा बन्दुकको गोली लाग्दा घटनास्थलमै मृत्यु भएको हो ।
घटनापछि प्रहरीले सोही ठाउँका ४५ वर्षीय इन्द्रबहादुर सिंह, ५४ वर्षीय मीमबहादुर सिंह, २४ वर्षीय राजीव शाही, ४४ वर्षीय जनक कार्की र १९ वर्षीय लालबहादुर सिंहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुधिकुमार खड्काले जानकारी दिए ।
पक्राउ परेकाहरूको साथबाट तीन थान भरुवा बन्दुक, दुई थान फलामको चक्कु, १३५ दशमलव १८ ग्राम बारुद तथा भरुवा बन्दुकमा प्रयोग हुने २१ थान धातुका टुक्रा बरामद गरिएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस