दाङ,१ फागुन । सामाजिक सञ्जाल प्लेटफर्म TikTok ले आजदेखि नेपालमा ‘इलेक्सन सेन्टर’ सञ्चालनमा ल्याएको घोषणा गरेको छ। एपभित्र उपलब्ध यो विशेष केन्द्रमार्फत आगामी आम निर्वाचनअघि प्रयोगकर्तालाई सही, भरपर्दो र आधिकारिक जानकारी सहज रूपमा उपलब्ध गराउने लक्ष्य राखिएको कम्पनीले जनाएको छ।
सन् २०२० यता विश्वभर २०० भन्दा बढी निर्वाचनमा सञ्चालन गरिएका निर्वाचन निष्पक्षता तथा नैतिकता सम्बन्धी प्रयासको निरन्तरता स्वरूप नेपालमा यो पहल सुरु गरिएको टिकटकले उल्लेख गरेको छ।
प्लेटफर्ममार्फत विश्वसनीय जानकारीसँग प्रयोगकर्तालाई जोड्ने र हानिकारक भ्रामक सामग्री नियन्त्रण गर्ने प्रतिबद्धता यसले झल्काउने कम्पनीको दाबी छ।
यसै क्रममा टिकटकले निर्वाचन आयोग, नेपाल सँग निर्वाचन निष्पक्षता र नैतिकता सुदृढ गर्न समझदारीपत्रमा हस्ताक्षर गरेको छ।
आयोग परिसरमै क्षमता अभिवृद्धि कार्यशाला आयोजना गरी जिम्मेवार डिजिटल सहभागिता, भ्रामक सूचनासँग जुध्ने उपाय तथा सरोकारवालाबीच निर्वाचन नैतिकता सम्बन्धी बुझाइ सुदृढ गर्ने विषयमा छलफल गरिएको जनाएको छ।
एपभित्रको ‘इलेक्सन सेन्टर’ आयोगसँगको सहकार्यमा विकास गरिएको हो। यस केन्द्रमा नेपालको निर्वाचन प्रक्रिया, कहाँ र कसरी मतदान गर्ने, भ्रामक सूचना कसरी पहिचान गर्ने भन्ने जानकारीका साथै आयोगका आधिकारिक स्रोतमा सिधै जोडिने लिंक उपलब्ध गराइएको छ। सम्बन्धित कन्टेन्ट र सर्चमा निर्वाचन ट्याग प्रयोग गरी प्रयोगकर्तालाई सो केन्द्रमा मार्गनिर्देशन गर्ने व्यवस्था मिलाइएको छ।
दक्षिण एसियाका लागि टिकटकका सार्वजनिक नीति तथा सरकारी सम्बन्ध प्रमुख फेर्दौस मोत्ताकिनले निर्वाचन लोकतन्त्रका लागि महत्वपूर्ण क्षण भएको उल्लेख गर्दै सुसूचित सहभागिता र सकारात्मक डिजिटल वातावरण प्रवर्द्धन गर्ने उद्देश्यले ‘इलेक्सन सेन्टर’ सुरु गरिएको बताए।
कम्पनीका अनुसार हानिकारक भ्रामक सूचना नियन्त्रणका लागि कडा नीति लागू गरिएको छ। अपुष्ट सामग्रीमा लेबल लगाउने, सिफारिसबाट हटाउने तथा सेयरअघि पुनर्विचार सुझाव दिने जस्ता उपाय अपनाइनेछ। साथै, विश्वभरका २० भन्दा बढी तथ्य जाँच गर्ने संस्थासँग सहकार्य भइरहेको जनाएको छ।
टिकटकले गोप्य प्रभाव सञ्चालन, नक्कली पहिचान र बोट नेटवर्कजस्ता कृत्रिम संलग्नता नियन्त्रण गर्ने नीति अवलम्बन गरेको छ। यस्ता गतिविधिविरुद्ध गरिएका कारबाहीहरू कम्पनीले आफ्नो ‘ट्रान्सपेरेन्सी सेन्टर’मार्फत सार्वजनिक गर्ने बताएको छ।
आगामी निर्वाचनलाई लक्षित गरी नेपालका लागि समर्पित ‘इलेक्सन टास्कफोर्स’ समेत परिचालन गरिएको टिकटकले जनाएको छ। निर्वाचन नैतिकतासम्बन्धी थप विवरण भने कम्पनीले आफ्नो ‘ग्लोबल इलेक्सन इन्टेग्रिटी हब’मार्फत सार्वजनिक गर्दै जाने बताइएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस