दाङ,२ चैत । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका तुलसीपुर–१२ रझेनीका ५८ वर्षीय सुरेन्द्र आचार्यको उपचारका क्रममा निधन भएको छ।
गत फागुन २० गते साँझ करिब साढे ६ बजेतिर राप्ती राजमार्ग मा मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए। घाइते आचार्यको मेडिसिटी अस्पताल, काठमाडौँमा उपचारका क्रममा आइतबार राति मृत्यु भएको हो।
स्थानीय चुर्ण केसीका अनुसार साँझको समयमा पैदल हिँडिरहेका आचार्यलाई घरदेखि करिब २०० मिटर तल राजमार्गमा मोटरसाइकलले ठक्कर दिएको थियो। तर ठक्कर दिने मोटरसाइकलको हालसम्म पहिचान हुन सकेको छैन।
इलाका प्रहरी कार्यालय तुलसीपुर का प्रमुख होमबहादुर पराजुली ले घटनाको समयमा चुनावका कारण जनशक्ति कम भए पनि खोजी कार्य जारी राखिएको तर हालसम्म मोटरसाइकलको पहिचान हुन नसकेको जानकारी दिएका छन्।
दुर्घटनापछि आचार्यलाई तत्काल सिटी अस्पताल तुलसीपुरमा लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही हुँदै अन्ततः काठमाडौँको मेडिसिटी अस्पताल लगिएको थियो।
आचार्य सिर्जनशील महिला बचत तथा ऋण सहकारी संस्थामा कार्यरत थिए। उनकी श्रीमती रमा आचार्य पशुपति मावि हरिपौरामा कार्यरत छिन्। उनका एक छोरा अष्ट्रेलियामा बस्दै आएका छन्।
पारिवारिक स्रोतका अनुसार छोरा र श्रीमती काठमाडौँ आइपुगेका छन् भने आचार्यको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने तयारी गरिएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस