काठमाडौं,१२ चैत। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सहज बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले शुक्रबार दिउँसो १२ बजेर ३४ मिनेटमा प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ।
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले भने बिहीबार दिउँसो सिंहदरबारस्थित नयाँ संसद् भवनमा पद तथा गोपनीयताको शपथ लिने भएका छन्।
तर, नयाँ प्रतिनिधिसभा र कायम रहने राष्ट्रिय सभासहितको संघीय संसद्को अधिवेशन भने अहिलेसम्म आह्वान गरिएको छैन। कानुनी प्रावधानअनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान गर्ने व्यवस्था छ।
हाल सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले अधिवेशन आह्वान नगरेको जनाएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले मन्त्रिपरिषद् बैठक बस्ने निर्णय नभएको र नयाँ सरकारले नै अधिवेशन आह्वान गर्ने सम्भावना रहेको बताएका छन्।
अधिवेशन आह्वानका लागि मन्त्रिपरिषद्ले निर्णय गरेर राष्ट्रपतिसमक्ष सिफारिस गर्नुपर्ने हुन्छ। यसअघि चैत १६ गतेका लागि अधिवेशन बोलाउने चर्चा भए पनि अब उक्त मितिमा अधिवेशन हुने सम्भावना टरेको छ।
अधिवेशन आह्वान गर्दा कम्तीमा एक साताको समय दिनुपर्ने प्रावधान रहेकाले पनि चैत १६ मा अधिवेशन बस्ने सम्भावना समाप्त भएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार संसद् अधिवेशन सञ्चालनका लागि आवश्यक ‘बिजनेस’ नयाँ सरकारले तय गरेपछि मात्र बैठक बोलाउने प्रक्रिया अघि बढाइनेछ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस