दाङ, १९ चैत – २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (SEE) आज बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुँदैछ। यस वर्ष लुम्बिनी प्रदेशमा नियमित (साधारण र प्राविधिक धार) तर्फ ७२,०८० जना र ग्रेड वृद्धि तर्फ १६,९३७ जना गरी कुल ८९,०१७ जना परीक्षार्थी सहभागी हुँदैछन्।
परीक्षा सञ्चालनका लागि लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा ३३८ परीक्षा केन्द्र निर्धारण गरिएको छ। परीक्षा व्यवस्थापनका लागि ३३८ केन्द्राध्यक्ष, ६३७ सहायक केन्द्राध्यक्ष, ४,४६७ निरीक्षक, ६६९ परीक्षा सहायक र ६७६ कार्यालय सहयोगी गरी कुल ६,७८७ जनशक्ति परिचालन गरिएको छ। सुरक्षा व्यवस्थाका लागि जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपालसँग आवश्यक समन्वय गरिएको छ।
लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले परीक्षार्थीहरूलाई डर, त्रास वा कुनै दबाबबिना उच्च मनोबलका साथ परीक्षा दिन आग्रह गर्दै सफलताको शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले स्थानीय प्रशासन, स्थानीय तह, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी, पत्रकार तथा नागरिक समाजलाई परीक्षा स्वच्छ, अनुशासित, भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन सहयोग गर्न अपिल गर्नुभएको छ।
मन्त्रीका अनुसार सबै परीक्षा केन्द्रमा केन्द्राध्यक्ष नियुक्ति, जिल्लास्तरमा अभिमुखीकरण, प्रश्नपत्र तथा उत्तरपुस्तिका ढुवानी लगायतका सम्पूर्ण तयारी पूरा भइसकेको छ।
लुम्बिनी प्रदेशमा SEE २०८२ परीक्षा भयरहित, मर्यादित र व्यवस्थित रूपमा सञ्चालन हुने अपेक्षा गरिएको छ।

© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस