after_navbar

विद्युतको खपत बढ्दा पेट्रोलको घट्यो


घण्टा अगाडि


काठमाडौ,१३ जेठ । देशभर विद्युत् पहुँच विस्तार र प्रयोग बढ्दै जाँदा पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै गएको पाइएको छ। आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार हाल करिब ९९.१ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको छ।

सहरी क्षेत्रमा विद्युतीय उपकरण, विशेषगरी विद्युतीय चुल्होको प्रयोग बढेसँगै खाना पकाउने ग्यासको खपत घट्दो क्रममा रहेको उल्लेख गरिएको छ।

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म पेट्रोल र डिजेलको खपत गत वर्षको सोही अवधिको तुलनामा क्रमशः १० प्रतिशत र ९.९ प्रतिशतले घटेको सर्वेक्षणले देखाएको छ। यसले विद्युत् प्रयोग विस्तारसँगै पेट्रोलियम पदार्थको आयात पनि घट्ने संकेत गरेको छ।

सर्वेक्षणअनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका केही गाउँपालिकाबाहेक अधिकांश स्थानमा विद्युत् पहुँच पुगेको छ। यद्यपि, उपलब्ध क्षेत्रमा गुणस्तरीय र भरपर्दो सेवा उपलब्ध गराउने चुनौती अझै कायम रहेको जनाइएको छ।

सरकारले निकट भविष्यमा शतप्रतिशत घरधुरीमा विद्युत् सेवा पुर्‍याउने र सेवा थप गुणस्तरीय बनाउने लक्ष्य राखेको छ। यस प्रयासमा सरोकारवाला निकायहरूले पनि सहयोग गर्दै आएका छन्।
गत फागुनसम्म देशको कुल जडित विद्युत् क्षमता ४,१०५ मेगावाट पुगेको छ, जसमा जलविद्युत्को हिस्सा ३,७९८ मेगावाट रहेको छ। चालु आवमा भारततर्फ २,९१८ गिगावाट घण्टा विद्युत् निर्यात भएको पनि उल्लेख छ।

त्यसैगरी, आधारभूत खानेपानीको पहुँच ९७ प्रतिशत जनसंख्यामा पुगे पनि सुरक्षित खानेपानीको पहुँच भने २९ प्रतिशतमा सीमित रहेको छ। स्वास्थ्य बीमा कार्यक्रम सबै स्थानीय तहमा विस्तार भइसकेको छ भने योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा २८ लाख ५० हजार श्रमिक सूचीकृत भएका छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="