दाङ,७ फागुन। दाङको तुलसीपुर उपमहानगरपालिका–६ ज्ञानज्योति बोर्डिङ स्कुल नजिकै सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ।
मङ्गलबार दिउँसो सवा ३ बजे तुलसीपुर स्थित घोराही रोडबाट वडा नम्बर ६ को कार्यालयतर्फ जाँदै गरेको बा.प्र.०१-०२६ च ४२१६ नम्बरको गाडी र विपरीत दिशाबाट आइरहेको रा ३ प ६८०० नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुई जना घाइते भएका हुन्।
घटनामा मोटरसाइकल चालक तुलसीपुर–९ बस्ने २४ वर्षीय संजय के.सी. गम्भीर घाइते भएका छन्। उनको दुवै हात, खुट्टा, टाउको र मुखमा चोट लागेको छ, उपचारका लागि उनलाई लखनउ रेफर गरिएको छ।
त्यस्तै, मोटरसाइकलमा पछाडि सवार तुलसीपुर–७ का २८ वर्षीय सुदीप नेपालीको दुवै हात, खुट्टा र टाउकोमा चोट लागेको छ। उनलाई तुलसीपुरस्थित सिटी अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ।
गाडी चालक तुलसीपुर–६ निवासी ३८ वर्षीय दुजमान भण्डारी (वडा अध्यक्ष) रहेको खुलेको छ।
दुर्घटनामा संलग्न दुबै सवारी साधनलाई प्रहरी नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस