after_navbar

इन्स्पेक्टर महत मृत्यु प्रकरण : प्रहरीमाथी नै आत्महत्या दुरुत्साहनको जाहेरी


फागुन १२, २०८१


काठमाडौं,१२ फागुन । कास्कीस्थित ब्यारेकमा झुन्डिएको अवस्थामा मृत भेटिएकी सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतको मृत्यु प्रकरण नयाँ मोडमा पुगेको छ। महतको परिवारले आत्महत्या दुरुत्साहनको आरोप लगाउँदै अर्का इन्स्पेक्टरविरुद्ध किटानी जाहेरी दिएको छ।

ad

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाले जाहेरी दर्ता भएको पुष्टि गरेका छन्। अब दर्ता प्रक्रियापछि पक्राउ पुर्जी जारी गरी आवश्यक अनुसन्धान अघि बढाइने उनले जानकारी दिए।


महतको परिवारले सशस्त्र प्रहरी बलका १६ बेसिकका एक इन्स्पेक्टरसँग उनको प्रेम सम्बन्ध रहेको दाबी गरेको छ। तर, पछिल्लो समय उनीहरूको सम्बन्धमा दरार आएपछि मानसिक तनावका कारण महतले आत्महत्या गरेको परिवारको भनाइ छ।

छानबिन समिति गठन
घटनाको छानबिन गर्न सशस्त्र प्रहरी बलको हेडक्वाटरले ५ सदस्यीय छानबिन समिति गठन गरेको छ। डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा गठित समितिले घटनाको सत्यतथ्य पत्ता लगाउने जिम्मेवारी पाएको छ। सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी कुमार न्यौपानेका अनुसार समितिले छिट्टै अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्नेछ।

तालिमकै क्रममा मृत्यु
सिन्धुपाल्चोककी महत १७ बेसिक (२०८१) की इन्स्पेक्टर थिइन्। उनले २०७२ सालमा सशस्त्र प्रहरीमा सिपाहीका रूपमा सेवा सुरु गरेकी थिइन्। २०७८ सालमा असईमा नाम निकालेपछि उनले २०८१ सालमा इन्स्पेक्टर तालिम सुरु गरेकी थिइन्। पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन ब्यारेकमा तालिमकै क्रममा उनी महिला शौचालय नजिकको बिममा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="