काठमाडौं,२१ भदौ । बाढीपहिरोका कारण मुलुकभरका १२ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् भने १६० राजमार्ग एकतर्फी सञ्चालनमा रहेको सडक विभागले जनाएको छ।
विभागका अनुसार ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–वेत्रावती–मैलुङ–स्यफ्रुबेंसी–रसुवागढी, जमुनाहा–नेपालगञ्ज–कोहलपुर–सुर्खेत–खुलालु–हिल्सा (कर्णाली राजमार्ग) र रानी–विराटनगर–इटहरी–धरान–धनकुटा–हिले सडकखण्ड अवरुद्ध छन्।
त्यस्तै लेघुवाघाट–तुम्लिङ्गटार–खाँदबारी–नुम–किमाथाङ्का (कोशी राजमार्ग) मा वरुण नदीको डाइभर्सन बगाउँदा अवरुद्ध भएको छ। चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक (तमोर करिडोर) र छिन्चु–कुदु–जाजरकोट–दुनै–धो–तिन्जे–मरिम (भेरी करिडोर) पनि बन्द भएका छन्।
यस्तै, कोइलाबास–लमही, अर्जुनखोला–घोराही–होलेरी–घर्तिगाउँ–थवाङ–लुकुम (शहीद मार्ग), सुर्खेत–तल्लो डुङ्गेश्वर–सातखम्बा–दुल्लु–पिपलकोट–खुलालु–मान्मा–नाग्मा–जुम्ला सडकखण्ड पनि आवागमन अवरुद्ध छ।
सडक निर्माण कार्य भइरहेकाले काठमाडाैं–धुलीखेल–दोलालघाट–खाडीचौर–कोदारी (अरनिको राजमार्ग) पनि बन्द भएको विभागले जनाएको छ।
यसैबीच, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता भीमार्जुन अधिकारीले मुलुकभरका अवरुद्ध राजमार्ग चाँडोभन्दा चाँडो सञ्चालनमा ल्याउन प्रयास जारी रहेको जानकारी दिएका छन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस