after_navbar

भवन क्षतिग्रस्त भएपछि त्रिपालमुनिबाट सेवा सुरु


भदौ ३१, २०८२


दाङ,३१ भदौ। जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीले कार्यालय भवन क्षतिग्रस्त भएपछि तुलसीपुर उपमहानगरपालिकाले आजदेखि त्रिपालमुनिबाट सेवा सुरु गरेको छ।

ad

आन्दोलनकै क्रममा उपमहानगरपालिकासहित मालपोत, उच्च अदालत, आन्तरिक राजश्व, इलाका प्रशासन कार्यालय, कारागार, यातायात व्यवस्था कार्यालयलगायत विभिन्न सरकारी कार्यालयमा तोडफोड र आगजनी भएको थियो।

उपमहानगरपालिकाका तीनवटा भवनमा ठूलो क्षति पुगेको छ। जसमा नयाँ साततले “तुलसी टावर” को सिसा फुटेको, मेयरको कार्यकक्ष रहेको भवन क्षतिग्रस्त भएको र कार्यालय परिसरमा रहेका दमकल, पानी ट्यांकरसहितका सवारी साधन जलेका छन्।

शिक्षा शाखा, जनस्वास्थ्य शाखा लगायतका कार्यालयका कम्प्युटर, ल्यापटप, औषधि, खोप तथा विभिन्न कागजातसमेत नष्ट भएका छन्।

भौतिक संरचनामा परेको क्षतिको बीच पनि नागरिक सेवामा अवरोध नहोस् भन्ने उद्देश्यले त्रिपाल टाँगेर अस्थायी रूपमा सेवा सुरु गरिएको उपमहानगर प्रमुख टीकाराम खड्काले जानकारी दिए।

उनका अनुसार सामान्य असुविधा भए पनि प्रशासनिक काम, नागरिक सेवा र दैनिक कार्य निरन्तर हुनेछन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="