after_navbar

संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउँछ : मुख्यमन्त्री आचार्य


असोज ०३, २०८२


दाङ,३ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लोकतान्त्रिक विधि प्रक्रियामार्फत संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउने बताएका छन्।

ad

संविधान दिवस–२०८२ का अवसरमा शुक्रबार जारी शुभकामना सन्देशमा उनले संविधान कार्यान्वयनमार्फत सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रामा सबै एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

मुख्यमन्त्री आचार्यले संविधानले संघीय बहुदलीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीलाई अंगिकार गर्दै मौलिक हक,अधिकारको रक्षा, स्वतन्त्र न्यायपालिका, प्रेस स्वतन्त्रता, कानूनी शासन र समाजवादउन्मुख अर्थतन्त्रलाई अघि सारेको स्मरण गराए।

प्रदेश सरकारले संविधान, दीगो विकास लक्ष्य, अन्तर्राष्ट्रिय प्रतिबद्धता र दोस्रो आवधिक योजनालाई आधार मानी नीतिगत, संरचनात्मक र कानूनी सुधार अघि बढाइरहेको उनको भनाइ छ। उनले सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रण, पारदर्शिता, जवाफदेही कार्यशैली र नागरिकका गुनासा समयमै सम्बोधनलाई प्राथमिकता दिइएको स्पष्ट पारे।

भ्रष्टाचार नियन्त्रणका लागि पाँच वर्षे रणनीतिक कार्ययोजना कार्यान्वयनमा ल्याइसकेको जानकारी दिँदै आचार्यले युवा पुस्ताको चाहनाअनुरूप प्रदेश सरकार थप पारदर्शी, जवाफदेही र जिम्मेवार ढंगले अघि बढ्ने प्रतिवद्धता जनाए।

संविधान दिवसले आपसी एकता, सहकार्य र समन्वयमा जोड दिने विश्वास व्यक्त गर्दै उनले समृद्ध लुम्बिनी र खुसी नागरिकको यात्रामा सबै सरोकारवालाको सक्रिय सहभागिताको आह्वान गरे।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="