काठमाडौं ,३ असोज । प्रधानमन्त्री सुशीला कार्कीले हालै भएको जेनजी युवाको आन्दोलनलाई युवापुस्ताको चाहना, जनचेतना र मुलुकमा बढ्दो भ्रष्टाचारप्रतिको असन्तोषको प्रतिविम्ब भएको बताएकी छन्।
संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८२ का अवसरमा शुक्रबार टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै उनले सुशासन, समृद्धि र विकासको क्षेत्रमा देखिएका कमजोरी र अधुरो अपेक्षाकै कारण आन्दोलनको जन्म भएको उल्लेख गरिन्।
‘लोकतन्त्र भनेको जनताको आवाज सुन्ने, संवाद गर्ने र समाधान खोज्ने प्रणाली हो,’ भन्दै प्रधानमन्त्री कार्कीले जेनजी पुस्ताले उठाएका रोजगारी, गुणस्तरीय जीवनस्तर, पारदर्शिता, कानुनी समानता, सुशासन र भ्रष्टाचार अन्त्यजस्ता मुद्दा केवल युवाको मात्र नभई सबै पुस्ताका साझा अपेक्षा भएको बताइन्।
उनले आन्दोलनका क्रममा क्षतिग्रस्त सार्वजनिक संरचना पुनःनिर्माण गर्नुपर्ने, निजी क्षेत्रको मनोबल बढाउनुपर्ने र तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिइन्। साथै, सरकार नागरिकप्रति पूर्ण जवाफदेही रहने प्रतिबद्धता व्यक्त गर्दै उनले नागरिकलाई पनि आफ्ना कर्तव्यप्रति सचेत रहन आग्रह गरिन्।
संविधान दिवस अवसरमा प्रधानमन्त्री कार्कीले नेपालको संविधान नेपाली जनआन्दोलन, सङ्घर्ष र बलिदानको जगमा बनेको मार्गदर्शक दस्तावेज भएको उल्लेख गर्दै संघीयता, लोकतन्त्र, गणतन्त्र, समावेशिता र सामाजिक न्याय यसको आधारभूत विशेषता रहेको प्रस्ट पारिन्।
उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष, कम खर्चिलो र भयरहित वातावरणमा सम्पन्न गर्नुपर्ने आवश्यकता औंल्याउँदै सबै वर्ग र समुदायको अपनत्व सिर्जना गर्ने प्रतिबद्धता दोहोर्याइन्।
प्रधानमन्त्री कार्कीले हालैको जेनजी आन्दोलनमा सहिद भएका प्रति श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिन्।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, संवैधानिक निकायका प्रमुख, विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका पदाधिकारी तथा विदेशी नियोगका प्रमुखहरूको उपस्थिति रहेको थियो।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस