काठमाडौँ,११ असोज ।बैतडीमा जिप दुर्घटना भएको छ । बैतडी सडकखण्डको सुर्नया गाउँपालिका–७ भञ्ज्याङमा विद्युतीय जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । धनगढीबाट पुर्चौंडी तर्फ जाँदै गरेको सु.प.प्र.०२००१ ज ६२० नम्बरको जिप शनिबार दिउँसो जयपृथ्वी राजमार्ग अन्तर्गत भञ्ज्याङमा दुर्घटनामा परेको हो ।
जिपमा चालकसहित १९ जना सवार रहेकामा ८ जना सकुशल छन् भने १० जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिए । उनका अनुसार घाइतेमध्ये ६ जनाको अवस्था सामान्य र ४ जनाको अवस्था मध्यम रहेको छ ।
घाइते हुनेमा पुर्चौंडी नगरपालिका–५ का १५ वर्षीय भुवन साउँद, २८ वर्षीया यशोदा साउँद, ५ वर्षीय कोबित पन्त, २८ वर्षीया पवित्रा पन्त, १९ वर्षीय नरेश बोहरा, २८ वर्षीया वसन्ती अवस्थी र १७ वर्षीय विकास साउँद रहेका छन् । त्यस्तै पुर्चौंडी नगरपालिका–४ का १९ वर्षीया कमला धानुक, २२ वर्षीय प्रकाश धानुक र पुर्चौंडी–३ की २२ वर्षीया सावित्री धामी पनि घाइते भएका हुन् ।
उनीहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको प्रहरीले जनाएको छ । दुर्घटनापछि चालक महेश बोहरा फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस