दाङ, २६ असोज । बबई गाउँपालिकाका अध्यक्ष कुल बहादुर खत्रीले हालैको जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका जेनजी युवापुस्ताप्रति श्रद्धाञ्जली अर्पण गर्दै नयाँ पुस्तालाई देश र समाज पुनर्निर्माणको बाटो देखाउन आग्रह गरेका छन्।
उनले एक सार्वजनिक सन्देशमार्फत आन्दोलनका क्रममा देशभर र गाउँपालिकामा भएको हृदयविदारक घटनाप्रति दुःख व्यक्त गर्दै भने,
“प्रिय जेनजीहरु, आउनुहोस्, बाटो देखाउनुहोस्। नकारात्मक आभासहरू पन्छाउन हातेमालो गरौं। हाम्रो समस्या हामी आफैं मिलेर समाधान गरौं।”
अध्यक्षले आफ्नो १६ वर्षको उमेरदेखि नै सामाजिक न्याय र समानताको पक्षमा आवाज उठाउँदै आएको उल्लेख गर्दै गाउँपालिकाको वर्तमान अवस्थाबारे आत्ममूल्यांकन गरेका छन्। उनका अनुसार गाउँपालिकाले मितव्ययिता, पारदर्शिता, र सुशासनका प्रयासहरू जारी राखे पनि राजनीतिक दाउपेच र सीमित बजेटका कारण जनअपेक्षा अनुसारको उपलब्धि हासिल गर्न कठिनाइ भएको बताए।
गाउँपालिकाको कार्यालयमा भएको आगलागी घटनाप्रति गहिरो पीडा व्यक्त गर्दै उनले भने,
“हाम्रो बबई गाउँपालिका त्यो रापमा किन जल्यो? कसले जलायो? म त्यो कुरामा जान चाहन्न। तर के हाम्रो गल्तीकै कारण आगो लगाउनुपर्ने थियो? गल्ती नै भयो भने पनि सुधारको मौका दिनु पर्थ्यो।”
आफूलाई पदको मोह नभई सेवाको भावना मात्र रहेको उल्लेख गर्दै, “मलाई पदको मोह छैन। सेवा गर्ने ध्येय हो,” उनले भनेका छन्।
सामाजिक संजालको पोस्टको अन्त्यमा उनले जेनजी पुस्तालाई सहादतको सम्मान गर्दै देश, समाज र भविष्यको पुनर्निर्माणका लागि एकजुट हुन आह्वान गरेका छन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस